दोहोरो नागरिकताको विषय डियरवाकमा पनि उठ्यो
काठमाडौंको सिफलस्थित डियरवाक एजुकेशन ग्रुपमा पनि दोहोरो नागरिकताको प्रसङ्ग उठेको छ । अमेरिकी विश्वविद्यालयसँग आवद्ध उक्त संस्थामा डियरवाक सिफल स्कुल र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी छन् ।
संस्थाको आगामी शनिवार हुन लागेको साधारण सभामा एक जना अमेरिकी नागरिकताधारी नेपालीले मतदान गर्न लागेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुर गरिएको छ । उक्त उजुरको बोधार्थ कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत दिइएको छ ।
सञ्चालक समिति सदस्य भुवन श्रेष्ठले मतदाता रुद्रराज पाण्डेको नागरिकताको कानुनी हैसियतमाथि प्रश्न चिन्ह उठाएका हुन् । मतदाता सूचीको १ नम्बरमा रहेका पाण्डेसँग अमेरिकी नागरिकता रहेको दाबी गरिएको छ । उनले उजुरीमा लेखेका छन्, ‘निज अमेरिकी हो या नेपाली नागरिक ? कुन राष्ट्रियतामा उपस्थित भई मतदान गर्ने हुन् ?’
प्रचलित कम्पनी ऐन र नियमावलीमा राष्ट्रियता र हैसियत प्रष्ट भएका व्यक्तिलाई मात्र कानुनतः कम्पनी स्थापना गरी सञ्चालन गर्न अनुमति प्रदान गर्ने व्यवस्था भएकोतर्फ उनले ध्यानाकृष्ट गराएका छन् । निज पाण्डे अमेरिकी हुन् वा नेपाली भन्ने भ्रम कायम रहेकाले पहिले उनको राष्ट्रियता प्रमाणित नहोउञ्जेल निजको नाम मतदाता नामावलीबाट हटाई कम्पनीलाई पारदर्शी र कानुनबमोजिम सञ्चालन गर्न श्रेष्ठले माग गरेका छन् ।
उनले निवेदनसँगै नागरिकता र अमेरिकी परिचयपत्रको फोटोकपी पनि पेश गरेका छन् ।
टिप्पणीहरू