चिनियाँ राजदूतको क्रसरसम्बन्धी चिन्ता

चिनियाँ राजदूतको क्रसरसम्बन्धी चिन्ता

नेपालमा क्रसर उद्योग बन्द हुँदा यहाँको विकास निर्माणमा बाधा पर्नेप्रति उत्तरी छिमेकी चीनले चिन्ता व्यक्त गरेको छ । नेपालमा सञ्चालित चिनियाँ परियोजनाको अवस्थाबारे कुराकानी गर्न आइतबार बिहान उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका चिनियाँ राजदूत छन सोङले क्रसर बन्द हुँदा समयमै काम सम्पन्न गर्न कठिनाइ हुनेतर्फ गुनासो पोखेका हुन् ।

नेपालको आन्तरिक राजनीतिमा कम चासो राख्ने चीनले यहाँ सञ्चालित दर्जनौँ चिनियाँ परियोजना निर्माण सामग्री अभावमा अलपत्र पर्ने अवस्थाप्रति चिन्तित हुँदै मन्त्रीको ध्यानाकर्षण गराएको हो । भेटका क्रममा चिनियाँ लगानीमा निर्माणाधीन परियोजनाको समग्र अवस्था, काठमाडौँको रिङरोड बिस्तार, चिनियाँ ठेकेदारको ढिलासुस्ती, रेलमार्गको अध्ययनलगायत विषयमा मन्त्री र राजदूतबीच छलफल भएको थियो ।

चिनियाँ सहयोगमा निर्माण हुन लागेको कलंकी–बालाजु–कोटेश्वर सडकखण्ड विस्तारको काम तत्काल शुरु गर्ने मन्त्री श्रेष्ठको आग्रहमा राजदूतले त्यसमा कुनै समस्या नभएको तर मुआब्जा विवाद सल्टाइदिनुपर्नेमा जोड दिएका थिए । कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड विस्तार गरेको चीनले अहिले काम शुरु गरेको छैन । तर, मन्त्री श्रेष्ठले रिङरोड विस्तार नेपालको प्राथमिकता भएकाले कुनै व्यवधान आउन नदिने बताएपछि उत्साहित भएका राजदूतले तत्काल काम थालेर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस क्रममा पोखरा–छहरे टनेलको काम अघि बढाउन गरिएको आग्रहमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको बताइएको छ । त्यस्तै, चिनियाँ ठेकेदार कम्पनीले ठेक्का लिएर काम सम्पन्न हुन नसकेको मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकबारे पनि छलफल भएको थियो । समयमा काम नसकेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था बनेको मन्त्रीको भनाइपछि राजदूत सोङले तुरुन्त बुझेर आवश्यक कदम चाल्ने वचन दिए । भेटमा चिनियाँ राजदूतले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई छिट्टै बुझाउने विश्वाससमेत दिलाए ।
 

टिप्पणीहरू