डाक्टरी पढ्दै गरेका विद्यार्थीको मुखमा सिठ्ठी
चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुले आज जुलुस निकालेका छन् । उनीहरुले राजधानीको माइतीघर मण्डलाबाट दबाबमूलक प्रदर्शन तथा सिठ्ठी जुलुस निकालेका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन पीडित विद्यार्थी संघर्ष समितिको आयोजनामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र संकायको डिनविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौंका अध्यक्ष एटम विद्रोहीको नेतृत्वमा थालिएको आन्दोलनमा २०७२ भदौ ३० गते भएको सहमतिको अक्षरशः कार्यान्वयन गर्न माग गरिएको छ ।
‘विद्यार्थीको हितमा तत्काल निर्णय गरी परीक्षाको तालिका यथाशीघ्र प्रकाशन गरियोस्’ भन्ने मूल नाराका साथ नयाँ बानेश्वर आइपुगेको टोलीमा समितिका अध्यक्ष एवम् गण्डकी मेडिकल कलेजका विद्यार्थी राजीव दास, अनेरास्ववियूको महासचिव रुपा बुढामगरको उपस्थिति छ ।
त्यस्तै, अनेरास्ववियूको स्थायी समिति सदस्य हिमाल थापा, चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक धनबहादुर तामाङलगायत तीन दर्जन सहभागी छन् ।
प्रदर्शनकारीहरुले ‘पीडित विद्यार्थीहरुलाई न्याय दे’, ‘सहमति पत्र लागू गर’, ‘हाम्रो आन्दोलन जारी छ’ लगायत नारा लगाएका छन् ।
टिप्पणीहरू