दुबई पुगेका समिम मियाँ पाँच दिनपछि स्वदेश फिर्ता

दुबई पुगेका समिम मियाँ पाँच दिनपछि स्वदेश फिर्ता

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आज दुबईबाट फर्केका छन् । अन्सारी आज बिहान सवा ७ बजे काठमाडौं आएका हुन् । उनी फ्लाई दुबईको उडान नम्बर एफ जेट ५८७ बाट स्वदेश आइपुगेका हुन् ।

यसअघि उनी गत मंगलबार बिहान फ्लाई दुबईको उडान नम्बर एफजेड ५८८ बाट त्यता गएका थिए । त्यसभन्दा पहिले मंसिर २७ गते दुबई गएर १२ दिनपछि काठमाडौं फर्केका उनी नियमित रुपमा त्यता जाने गरेका छन् । 

सरकारी आयोगका अध्यक्ष अन्सारीको विदेश भ्रमण प्रायः निजी हुने गरेको छ ।गत भदौ १६ गते अन्सारीले दुुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट सुनसरीका करोडौं ठगीको आरोप लागेका रिजवान आलमलाई गाडीमा राखेर भगाएका थिए । ठगी आरोपमा फरार आलमलाई प्रहरीले पछि होटल मेरियटबाट पक्रेको थियो । 

पछिल्लो पटक समिम माघ ६ गते राति महाराजगञ्ज प्रहरी हिरासतमा रहेका चार जना मापसेवाला भिआइपीलाई छुटाउन लागिपरेका थिए । मध्यरात मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको,सशस्त्र प्रहरीका पूर्व एआइजीको सवारी साधनमा गाडी ठोक्काएको आरोपमा समातिएका उनीहरुलाई छुटाउन अन्सारीले रातभर प्रहरी वृत्त महाराजगञ्जमा धर्ना दिएका थिए ।

टिप्पणीहरू