सरुवाको मौका, प्राधिकरणका हाकिमको चौका

सरुवाको मौका, प्राधिकरणका हाकिमको चौका

नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको चरम लापरबाहीका कारण स्थानीय उपभोक्ता मारमा परेका छन् । अस्ति शुक्रवार प्राधिकरणले कृष्णनगर,विजयनगर र शिवराजलगायत क्षेत्रमा विद्युत आपूर्ति सेवा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म अवरुद्ध हुने सूचना जारी गरेकाले हिजो बिहान ७ बजेदेखि सो क्षेत्रको विद्युत सेवा बन्द भयो ।

 ​​​उपभोक्ताहरुलाई के कारणले विद्युत आपूर्ति बन्द गरिएको भन्ने स्थानीय रुपमा कुनै जानकारी नै दिइएन । दिउँसोको समयमा कतै मर्मत सम्भारको काम गरेको होला भन्ने अनुमान धेरै उपभोक्ताले लगाए । विद्युतबाट हुने कामकाज ठप्प पारेर बसेका उपभोक्ता र व्यवसायीहरु साँझ ७ बजेपछि विद्युत आपूर्ति हुने आशमा बसे । तर साँझ ७ बजेपछि पनि बत्ति आउने कुनै छाँटकाँट देखेनन् ।

प्राधिकरणले सूचना जारी गरेझैँ कहिँ कतै विद्युतको मर्मत सम्भार गरिएको पनि देखिएन । सो क्षेत्रको एउटा उद्योगमा विद्युत जडानको निम्ति पूरै क्षेत्रको लाइन अवरुद्ध पारिएको थियो । प्राधिकरणले लाखौं उपभोक्तालाई बेवास्ता गर्दै एउटा निजी कम्पनीको निम्ति साँझ अबेरसम्म विद्युत प्रसारण बन्द गरेको हो । 

विजया स्टिल कम्पनीमा लाइन जडान गर्नको निम्ति आमउपभोक्तालाई विद्युत सेवाबाट १२ घण्टा बढी समय बञ्चित गराइयो । एउटा निजी कम्पनीको निम्ति प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले सर्वसाधारणलाई दुःख दिएका हुन् । सूचनाबमोजिम साँझ ५ बजे बिजुली नआएपछि कार्यालयमा सम्पर्क गर्न खोज्दा कार्यालयको फोनमा घण्टी नै नजाने बनाइएको थियो । सँगैको चन्द्रौटास्थित फ्युज सेन्टरमा पनि फोन सम्पर्क हुन सकेन । खानको फोनमा सम्पर्क गर्न खोज्दा उनको मोबाइलसमेत स्वीच अफ भएको पाइयो ।

लामो समय विद्युत आपूर्ति अवरुद्ध हुँदा जवाफ दिनुपर्ने सम्बन्धित निकायका कोही पनि सम्पर्कमा आएनन् । यता विजया स्टिलका व्यवस्थापक विजय केडियाले भने साँझ ७ बजेअगावै आफ्नो कम्पनीमा लाइन जडान भइसकेको बताए । 

हजारौं उपभोक्तालाई गुमराहमा राखेर एउटा निजी कम्पनीको निम्ति दिनभर र तोकिएको समयभन्दा बढी समय प्रदान गर्नुले प्राधिकरणको चरम लापरबाही स्पष्ट हुन्छ । स्रोतका अनुसार हाकिम खानको हालै नेपालगञ्ज सरुवा भएको छ । त्यही मौका छोपेर उनले निजी कम्पनीको काममा हजारौं उपभोक्तालाई दिनभर बिजुलीबाट वञ्चित गराएका हुन् ।

टिप्पणीहरू