फागुन ३ गतेदेखि देशव्यापी आन्दोलन, भोलि सवारी साधन ठप्प पार्ने ?
यातायातसम्बद्ध तीन वटा संघ संस्थाले पर्सि फागुन ३ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
श्रमिकमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले बुधवारदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
राजधानीको गोगंबुस्थित नयाँ बसपार्कमा भेला भएका यातायात मजदुरहरुले ल्होत्से बहुउद्धेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर,कर्मचारीहरु पंकज मल्ल,हिमाल कुँवरलगायतका दुई दर्जन व्यक्तिविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुको आक्रमणबाट दर्जनौं मजदुर तथा संघ संगठनका नेताहरु घाइते भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
भनिएको छ,‘आक्रमणबाट दर्जनौं मजदुर तथा संगठनका नेताहरु घाइते भएका छन् । कतिपयलाई प्रहरीले पक्राउ गरेको छ । साउण्ड सिस्टम तोडफोड गरेको छ । यस घटनामा आक्रमणकारीहरुलाई नियन्त्रण गर्नुपर्नेमा मजदुरहरुलाई नै बल प्रयोग गरी निरुत्साहित बनाउने काम गरेको छ ।’
साथै,गत माघ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइएको १० बुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारी साधन बन्द गरिने जनाइएको छ ।
संघले काठमाडौं उपत्यकाका यातायात श्रमिक,यातायात व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई भोलिदेखि यातायातका साधन ठप्प पार्न आह्वान गरेको छ ।
टिप्पणीहरू