एमाले अध्यक्ष बालुवाटार पुग्नुभयो

एमाले अध्यक्ष बालुवाटार पुग्नुभयो

प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गर्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । अध्यक्ष ओली पुगेलगत्तै प्रधानमन्त्रीसँग छलफल शुरु भएको बताइएको छ । 

उहाँहरुबीच राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवारबारे आवश्यक निर्णय गर्न भएको पटक पटकको छलफलमा आजको भेटलाई विशेष महत्वका साथ हेरिएको छ । भोलि राष्ट्रपति निर्वाचनको निम्ति उम्मेदवार मनोनयनको कार्यतालिका छ । 

एमालेले पछिल्लो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार प्रस्ताव गरेको छ । यता, नेपाली काँग्रेसले आफ्नै उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडान कायम राखेको छ ।

सोही विषयमा आज बिहान बालुवाटारमा पुरानो पाँँचदलीय गठबन्धनका चार ठूला दलका शीर्ष नेताहरुबीच चार घण्टा कुराकानी भएको थियो । तर, उम्मेदवारबारे सहमति हुन नसकेपछि ती दलका नेताहरु साँझ फेरि भेटवार्ता गर्ने भन्दै उठेका हुन् । 

त्यसअघि बालुवाटारमा नै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टै कुराकानी गर्नुभएको थियो ।

टिप्पणीहरू