रामचन्द्रको पक्षमा समाजवादी, नेम्वाङका लागि भोट माग्न ओली वामदेवको दैलोमा

रामचन्द्रको पक्षमा समाजवादी, नेम्वाङका लागि भोट माग्न ओली वामदेवको दैलोमा

नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको हो ।

बैठकमा सरकारमा सहभागिताको विषयमा पनि निर्णय हुने अनुमान गरिएको थियो । प्रवक्ता खतिवडाले भने सरकारमा सहभागिताको विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय नभएको बताए ।  एमालेसँगको सहकार्य छोडेर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र तत्कालीन पाँच दलीय गठबन्धनमा फर्किएपछि एकीकृत समाजवादी सरकारमा जाने तयारीमा छ । त्यसबारे थप छलफल गरी उपयुक्त समयमा निर्णय गर्ने सो पार्टीले जनाएको छ ।  

एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा दुबै तहका सांसदहरु मतदाता रहन्छन् । यता, आजै नेकपा एमालेका अध्यक्ष केपी ओली र वामपन्थी नेता वामदेव गौतमबीच राष्ट्रपति निर्वाचनकै विषयमा छलफल भएको छ । एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङलाई भोट माग्न अपरान्ह गौतम निवास भैंसेपाटी पुगेका ओली र वामदेवबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको बताइएको छ ।

 

एमाले छोडेर स्वतन्त्र वामपन्थी भूमिकामा रहेका गौतम राष्ट्रियसभा सदस्य पनि हुन् । त्यसकारण एक भोट निश्चित गर्न भैंसेपाटी पुगेका ओलीले गौतमलाई एमालेमा फर्किन आग्रह गरेको बुझिएको छ ।एकीकृत समाजवादीसँग निकटता देखाउंदै आएका गौतमले भने एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद हटाए त्यसबारे सोच्न सकिने जवाफ दिएको बताइन्छ ।

टिप्पणीहरू