ब्रह्मज्ञान नै नभएको तिमी कसरी बाहुन ?
अस्ति बिहान गैंडाकोट–४ मा म भाडामा बस्ने घरअगाडिको घरको बूढाबूढीले मलाई आफ्नो घरमाथिको बरन्डाबाट सोध्नुभयो, ‘बाबु तिम्रो घर कहाँ हो नि !’ मेरो घर पनि गैंडाकोटकै ८ नं वडामा पर्छ । वडा नं. ४ मै मेरो भाडाको घरभन्दा करिब ५०० मिटर पर मेरो बहिनी ज्वाइँको घर छ । ज्वाइँको नामको पछाडि बाबुबाजेकै पालादेखि परियार लेखिँदै आएको छ । काम पनि कपडा सिलाउने नै गर्छन् । घरमै टेलर्स छ । त्यसैले छरछिमेक र यो समाजले उनको बाबुबाजे देखि नै उनलाई दमाई भनी चिन्दै आएको छ ।
मेरा तिनै बहिनी–ज्वाइँका छोराछोरी अर्थात् मेरा भान्जाभान्जीहरु बेला–बेलामा मेरो कोठामा आइरहन्छन् । बहिनी–ज्वाइँ मेरो डेराघर अगाडिको बाटोमा बेलाबेलामा भेटिन्छन् । म उक्त घरमा भाडामा बसेको करिब सात महिना भयो । मेरो आफ्नै साथीको ठूलीआमाको घर । मेरो घरबेटीलाई मेरो अतापताबारे थाहा नहुने कुरै भएन । वरपरका अरुलाई पनि मेरो घरठेगाना कहाँ भनी बताइसकेको थिएँ । तैपनि थाहै नपाएझैं ती बूढाबूढीले सोधेपछि मैले मेरो घर त्यहीँ वडा नं. ८ को करङघारीमा पर्ने बताएँ । त्यसपछि उनीहरुले सोधे, ‘बाबु तिम्रो नाम नि ?’ मैले अजय गोर्खाली भनें । यसपछि उनीहरुले ‘गोर्खाली पनि थर हुन्छ र ? यो कस्तो थर हो ?’ भन्न थाले । मैले ‘थर भनेपनि जे भनेपनि राज्यले बकाइदा मेरो नामको पछाडि गोर्खाली नै लेखेर नागरिकता दिएको छ’ भनें । अनि ‘गोर्खाली भनेको के हो नि ?’ भनेर उनीहरुले थपे । मैले ‘म के जस्तो लाग्छु ?’ भनी प्रतिप्रश्न गरें । उनीहरुले फेरि ‘भन्नु न भन्नु !’ भन्न थाले । अनि मैले भनें, ‘मलाई त आफूलाई क्षत्री–बाहुन हो जस्तो लाग्छ र त्यही रुपमा आफूलाई विकसित गर्न पनि खोज्दैछु ।’
अब मैले उनीहरुलाई सोधें, ‘तपाईंहरुले नामको पछाडि थर भनेर लेख्ने गरेको शब्द के छ त ?’ बूढाले भने, ‘खनाल ।’ यसपछि मैले भनें ‘जस्तै कसैको नामको पछाडि सापकोटा लेखिएको हुने बित्तिकै उसलाई बाहुन जातको मान्ने मान्छेहरुको जुन सोच छ, म त्यो मान्दिनँ ।’ मान्छेको सोच–व्यवहार र कर्म नै उसको जात हो, नामको पछाडि थर भनेर लेखिँदै आएको शब्द नै उसको गुण (जात) वा व्यक्तित्वको पहिचान हुन सक्दैन ।’ मैले यसो भनेपछि उनीहरु चुप लागे, भाडाको घरअगाडि बाटोमै उभिएर बोलिरहेको म पनि भित्र आफ्नो डेराकोठातिर छिरें ।
हुन पनि नामको पछाडि विक, परियार, कुमाल, सुनार, तामाङ, चौधरी लेखिएको मान्छे के प्रखर विद्वान हुन सक्दैनन् ? छैनन् र ? के ती ब्राह्मण होइनन् ? अनि सापकोटा, पौडेल, सुवेदी, पण्डित, भट्टराई, रिजाल आदि कथित थर लेख्दै आएकाहरु पनि मूर्ख, अज्ञानी, लोभीपापी, दुष्कर्ममा लिप्त, व्यभिचारी, दूराचारी, चोर बदमास, फटाहा, भ्रष्टाचारी, अपराधी छैनन् र ? दुर्गुणले भरिएको मान्छे कसरी ठूलो जाति हुन सक्छ ? जन्मँदा मात्र मानवीय प्रकृतिको एकै वा उस्तै हुन्छौं । जातीय गुण त पछि आफैंले निर्धारण गर्ने हो । मान्छेचाहिँ नजाति अनि नामको पछाडि जाबो थर भनी लेखिएको शब्दकै आधारमा उसलाई उच्च जाति कसरी मान्न सकिन्छ ?
बिहानको उक्त घटनाको केहीबेरपछि मैले कसैलाई मोबाइलमा एनटिसीको नम्बरमा फोन गर्दा रिंगटोनमा जातीय विभेदविरुद्धकै स्लोगन बज्यो । २१ मार्चलाई विश्वमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ । नेपाल सरकारले पनि मोबाइलको रिंगटोनमै जातीय विभेदविरुद्धको स्लोगन राखेर जागरुकताका लागि उक्त दिन पटक–पटक जनजनको कान–कानमै फुकिरहेको थियो । यो वर्षको नारा रहेछ, ‘सबै प्रकारका जातीय छुवाछूत तथा भेदभाव विरुद्ध प्रतिरोध गरौं, सामाजिक न्यायसहितको समृद्ध र समावेशी नेपाल निर्माण गरौं ।’
मोबाइलको रिंगटोन सुन्नुअघि मलाई झट्ट याद पनि थिएन त्यो दिन ५४ औं अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवस हो । त्यस्तै अर्काे पनि कस्तो संयोग भने मैले उक्त फोन जातीय विभेदविरुद्धको एकजना अभियन्तालाई नै कुनै अर्कै कामले फोन गरेको थिएँ । उनी थिए, भरतपुर महानगरपालिकाको उत्पीडित, जातीय वर्गीय उत्थासन समितिको संस्थापक संयोजक चक्र रुचाल । यो अचम्मको त्रिकोणीय संयोगले नै मलाई यो लेख लेख्न उत्प्रेरित गरेको हो ।
कैयौं मानिसहरुले अझै जातको अर्थ बुझ्नै सकिरहेका छैनन्, कतिले बुझेर पनि बुझ पचाइरहेका छन् । नामको पछाडि थर भनेर लेखिँदै आएको शब्द नै जात हो भन्ने भ्रम यो समाजमा अझै व्याप्त देखिन्छ । सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानिएको मानिसले जाबो जातीयताका विषयमा अलिकति पनि भएको आफ्नो विवेक लगाउन किन नसकेका होलान् ? कस्तो जडबुद्धि होला मान्छेको पनि ? जबकि यो संसार नै खुला किताब हो ।
प्राणीहरुको विविधतालाई हेर्ने हो भने हामी सबै एउटै मानवजाति हौं, यसमा कुनै द्विविधा छैन । लिंगको आधारमा हेर्ने हो भने पनि प्रकृतिले सर्लक्कै दुईजाति छुट्याइदिएको छ, एउटा भाले, अर्काे पोथी अर्थात् महिला र पुरुष । हुन त अपवादको रुपमा यदाकदा यो दुनियाँलाई छक्क पार्ने तेस्रोलिंगी पनि यो संसारमा पैदा हुने गरेका छन् ।
संसारकै सबैभन्दा पुरानो धर्म हिन्दु । हिन्दू धर्म शास्त्रअनुसार मान्छेहरुलाई चार वर्गमा विभााजन गरिएको छ । ब्राह्मण, क्षत्री, वैश्य र शुद्र । हुन पनि सबै मानिस एउटै स्वभावका हुँदैनन् । जात भनेकै स्वभाव हो, मान्छेको गुण हो । यस संसारमा चार दिशा भए झैं मानिसहरुको विचार र विचरण पनि स्वभावतः अलग–अलग छन् । कोही आफ्नो विचार र व्यवहारले आकाश छुन्छन्, कोही पातालतिर भासिन्छन् । यही हो स्वर्ग र नर्क । त्यसैले जहिले पनि उच्च विचारको उडान भर्नुपर्छ । ‘सादा जीवन, उच्च विचार’ भन्ने त कहावत नै छ । ‘लक्ष्य के लिनु उडी छुनु चन्द्र एक’ पनि त भनिएकै छ । तर हाम्रो गन्तव्य नै गलत भयो । दृष्टिकोण नै सही नभएपछि यस सृष्टिको मर्म बुझ्न कसरी सक्षम हुन्छौं ?
अझै पनि नामको पछाडि थर भनी लेखिँदै आएको शब्दलाई नै मान्छेको जात भन्ठान्ने गलत सोच समाजमा मान्यताकै रुपमा स्थापित छ, नामेट हुन गाह्रो छैन । परियार, विश्वकर्मा, सुनार आदि थरधारीहरुलाई कहीँकतै यो नेपाली समाजमा आफ्नो नाम भन्दा होचिनुपर्ने अवस्था अझैपनि छ । धन्न बाबुकै परियार थर मेरो नाम पछाडि लेखिएन । यसले मलाई आफूलाई ठूलोजाति भन्ठान्ने मूर्ख अज्ञानीहरुको भीडमा खासै अपहेलित हुनुपरेको छैन । अझ बढी त गौरव महसुस भएको छ मलाई नाममा गोर्खाली शब्द जोडिन पुग्दा । किनकि विश्वमा नेपालको परिचय दिनुपर्दा गोर्खालीको देश भनिन्छ । नेपाली भन्दा वीर गोर्खाली नै भनेर चिनिन्छ । नेपाल एकीकरणको सुरुवातसमेत गोरखाभूमिबाटै भएको हो । मेरो पुख्र्यौली थलो पनि गोरखा नै । 'न्याय नपाए गोरखा जानू' उक्ति गाँसिएको ठाउँ पनि गोरखा । गोरखासँगको यस्तै यस्तै ओजपूर्ण साइनोले मलाई हरदम गौरवान्वित बनाउँछ । साँच्चै वीर गोर्खाली नै भएर चिनिन चाहन्छु म पनि ।
ब्राह्मण भनेको के ? क्षत्री भनेको के ? शुद्र र वैश्यको अर्थ के ? मान्छे आफैंले आफूलाई बनाउने हो । कोही असाध्यै माथिल्लोस्तरका देवतासमान मान्छे पनि हुन सक्छन् । भगवानसमान त्यस्ता महान मान्छेहरु केवल थरैले बनेका होइनन् । आफ्नै कर्मले आफ्नो कोटी तय गर्ने हो । यस्तै कोही साह्रै तुच्छ राक्षसी प्रवृत्तिका मान्छे पनि त छन् हाम्रै वरिपरि । वास्तवमा जाती–नजाति स्वभाव नै उसको जात वा थर हो । व्यक्तिको धर्म र गुणसँग जोडिएको विषय हो यो ।
अरुलाई हित गर्ने असल स्वभावको मानिस नै त सबैको नजरमा जाति अनि प्रिय हुन्छन् होइन र ? त्यसैले ब्राह्मण भनेको सापकोटा, भट्टराई, पोखरेल आदि थरधारी शरीर होइन । महाचेतन तत्व (ब्रह्म) ज्ञान भएको वा वेद जान्ने व्यक्ति नै ब्राह्मण हो भनी नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत शब्दकोषमै लेखिएको छ । ब्रह्म ज्ञान भएको मान्छेले त कहिल्यै कसैलाई विभेद नै गर्दैनन्, सबैलाई बराबर नै देख्छन्, मान्छेको विचार र कर्मलाई नै महान् मान्छन् । झन् यहाँ त पहिल्यैदेखि सबैभन्दा बढी छिइछिटो गर्नेहरु नै तथाकथित बाहुन क्षेत्री । जोगी साधुको भेषमा ढाेंगी हुन् ती सबै ।
क्षेत्रीको अर्थ बहादुर अर्थात् शौर्य हो । कृषि, वाणिज्य, पशुपालन आदि पेसामा लिनेलाई वैश्य जाति भनी परिभाषित गरिएको थियो । यस्तै घृणित अनि बढी पाप कर्ममा उद्यत हुनेलाई नै नीच, अछूत, तल्लो जात वा शुद्र भनिएको हुनुपर्छ । अचेल कोचाहिँ छ शुद्ध पवित्र ? होलान् कतै लाखौंमा एक । तर अरु धेरैजसो सबैजसो मानिस लोभपाप र व्यभिचारको नरक फसेका छन् । मनैदेखि कामुक छन्, तैपनि आफूलाई कामी भन्न हिचकिचाउँछन् ।
दलित शब्दको अर्थ दमित दबिएको/दबाइएको हो । न कि परियार, विक, सुनार, दर्जी आदिचाहिँ दलित अनि अधिकारी, देवकोटा, सापकोटा, रिजाल, पौडेल, श्रेष्ठ, थापा, गुरुङ डल्लाकोटीहरुचाहिँ गैरदलित ¤ तर यहाँ पहिल्यैदेखि सोचविचारमै यस्तो लगाम लगाइयो मानौं नामको पछाडि थर भनेर लेखिने शब्द नै मान्छेको जात हो, दलित–गैरदलितको पहिचान हो । फलस्वरुप आजकलका मान्छेहरु पनि त्यही जात्यन्ध नै भइरहे । जताजता बाहुन बाजे उतैउतै स्वाहा भन्ने त कहावत् नै छ । हुन पनि काम न काज केवल नामरथरले ठूलो जातिमा गनिन, बाहुन क्षेत्री भनिन पाइआएकाहरुले सकेसम्म यो कुप्रथा किन सकिन दिन्थे ? यो नामथरको खोस्टो किन फ्याँक्न चाहन्थे ? सतीप्रथा त अझ चल्दिए हुन्थ्यो भन्ने कट्टर पितृसत्तात्मक सोचमा अझै होला । काम भने मासु काटेर बेच्छन् तर आफूलाई थरैले बाहुन भन्छन् । भित्रभित्रै वेश्यावृत्तिमा लाग्छन् तर थरैले आफूलाई बाहुनी, क्षेत्रिनी भनी चिनाउन अघि सर्छन् । यस्तो छ हाम्रो समाज, कसलाई के को लाज ?
काम न काज केवल थरकै आधारमा समाजमा ठूलो जात भनी कहलिन पाएकाहरुलाई यो त गज्जव मातलाग्दो रस भएको छ । दलित शब्दको सानो ललीपप देखाएर फेरि उसैगरी निर्धाहरुलाई खुट्टा ढोगाइरहेका छन् । उनीहरुबाट अलि-अलि चुहिएको गुलियो चाट्न दलित नेताहरु पनि अभ्यस्त भइसके । भन्नैपर्दा थरकै आधारमा दलित भनेर परिभाषित गरी हेलाहोचोकै हिसाबले निर्धारण गरिएको आरक्षण, कोटा, सेवा, सुविधाको लोभमा आफ्नो स्वाभिमान बेचेर शोषित पीडितहरुले नै जिब्रो ल्यापल्याप पारिरहेको पाइन्छ । यही जहरमा त्यसै रनभुल्ल परिरहेका छन्, केही बुझ्नै सकिरहेका छैनन् । अनि कहिले मेटिन्छ त यो जातीय विभेद हाम्रो समाजबाट ?
आजभन्दा लगभग २५ वर्षअगाडि २०५६ सालमा हामी बसाइँसराइ गरी नवलपरासीको तत्कालीन गैंडाकोट गाविसको वडा नं. ८ मा आइपुग्यौं । त्यो बेला काठमाडौंमा समेत सानोजात भनेर भाडामा पनि कोठै दिन्थेनन् । काठमाडौंमा थर लुकाएर नेवार भनिनेको घरमा भाडामा बसेका थियौं । बुबाले आफ्नो नामको पछाडि नागरिकतामा लादिएको परियार थर अरुलाई नभनी, नलेखी गोपाल परियारको साटो जीपी गोर्खालीको नामबाट काठमाडौंमा आफूलाई चिनाए । मेरी आमा कंडेल थर लेख्ने बाउकी छोरी । त्यसो त मेरी आमाको बुबा पण्ड्त्यिाइँमै संलग्न । जे भएपनि ममीको आफ्नो व्यक्तिगत गुण स्वभाव र कर्म त छुट्टै हुने नै भयो । फेरि परियार थर लेख्ने मेरो बाबुलाई दमाई भन्ने समाजले मेरो मेरीलाई स्वतः दमिनीको ट्याग टाँसिदियो । किनकि नागरिकतामा मेरी ममीको आफ्नो बाउको समेत थर हटाएर पति भनिने मेरो बाउको शब्द जोड्ने कुचलनले मेरो ममीको नामथर बिहेपछि रीता परियार लेखिन गयो । जातीय रुढिवादमा अल्झिएको पुरुषप्रधान यो देशमा हालै केही वर्ष त भएको बिहेपछि महिलाहरुले पनि आफ्नै इच्छाएको नामथर थर राख्ने पाउने व्यवस्था गरिएको । यसैगरी बच्चाले आमाको नामबाट पनि नागरिकता पाउन सक्ने व्यवस्था अहिले बल्लतल्ल त भएको हो । उतिबेला मेरी ममीको पनि रितापछिको थरशब्द गोर्खाली भनेर हामीले काठमाडौंमा टाउको लुकाएका थियौं । अर्थात् त्यसरी नै हामीलाई बास मिलेको थियो ।
मेरो स्कूले शिक्षाको आरम्भ पनि काठमाडौंमै भएको हो । सायद मेरो जन्मदर्ता भएको थिएन वा देखाउन मिलेन । ललितपुरस्थित इमाडोलको श्री गम्भीर समुद्र सेतु प्राविमा भर्ना हुँदा नामथर अजय गोर्खाली भनी लेखियो । यसरी नै जहाँ पनि अजय गोर्खाली लेख्दालेख्दै सधैं गोर्खालीकै रुपमा चिनिएर नागरिकतामा समेत मेरो नाम अजय गोर्खाली नै लेखिन पुगेको छ ।
तर मेरो आमाबाबुको नागरिकतामा परियार नै रह्यो । सायद नागरिकतामा एकपटक प्रमाणित भइसकेको नाम पछि फेरि बदल्न मिल्ने कानुन पनि त छैन होला । अहिले भएपनि वा त्यस्तो कानुन अब बन्नेवाला भएपनि आजभन्दा २०–३० वर्षअगाडि त सपनामा पनि कसैले सोच्नसक्ने अवस्था थिएन । गैंडाकोट–८ मा ऐलानी जग्गामा टायलले छाएको ब्लकको सानो दुईकोठे घर बनाएर थाकथलोसहित अब यतै बस्ने भइसकेपछि आफ्नो नागरिकताको परिचय लुकाउने कुरो पनि सम्भव भएन । मेरा आमाबाबुको नागरिकताको नाममा परियार जोडिएको हुँदा गैंडाकोटमा जानेबित्तिकै दमाई भनी हामीमाथि हेलाहोचो सुरु भयो । पैसा तिर्दा पनि त्यहाँको कथित बाहुन–मगरको समाजले हेला गरेर हामीलाई खोलाको छेउमा ऐलानी जग्गामा हुत्याइदियो । बाबुले त्यहाँ कथित बाहुन भनिने एकदु’ई जना ठूलाबडासित भेटेर, सबै कुरा बताएरै बस्नका लागि जग्गा किनेका थिए । त्यतिबेला त्यो खोलाको छेउमा ऐलानी जग्गा किन्न खर्च गरेको पैसाले त्यहाँ राम्रै ठाउँमा नम्बरी जग्गा पनि आउने रहेछ, तर त्यो पछि थाहा भयो । ती बाहुन भनिनेहरुले त्योबारे बताउँदै बताएनन् । खोलाको छेउमा अरु दमाई, कामी भनिनेहरु बसेकै ठाउँमा हामीलाई बस्न बाध्य पारिदिए ।
म त्यतिबेला १२/१३ वर्षको बच्चा थिएँ । सानोमा खेल्ने, मिल्ने साथीहरु त सबैको भइहाल्छन् । केटाकेटीलाई हुँदै नभएको मिथ्या जातको मतलब पनि हुँदैन । दौंतरी जोसुकै होस्, मिल्ने खोज्छन् केटाकेटी । आफूजस्तै स्वभाव, गुण, र समर्पण हेरेर साथी बनाउँछन् । संगले पनि रंग त सर्छ नै । मेरा पनि बच्चा साथीहरु भए । तर तिनका आमाबाबु, बाजेबज्यै र परिवारका मान्छेले उनीहरुलाई (ती मेरा साथीहरुलाई) त्यसले (मैले) छोएको नखान भन्थे । मेरोमा घरमै सकभर नजान भन्थे, मलाई आफ्नो घरभित्र कहिल्यै नल्याउन भनी छोराछोरीलाई सिकाउँथे, कराउँथे । टिभी भएकाको घरमा हामी नहुने केटाकेटी टिभी हेर्न जाँदा अरु सबैका छोराछोरी भित्र पस्दा हामी दमाइकामी भनिनेहरुचाहिँ बाहिरै बस्नुपथ्र्याे । राति जाडोमा काम्दै भएपनि टिभी हेर्न पाउँदा रमाउँथ्यौं त्यो बेला । हामीलाई खानेकुरा दिए भनेपनि अलग्गै राखिदिन्थे । भाँडामा त दिँदै दिन्थेनन् । दुईहात थाप्न लगाएर माथिबाट अलग्ग खसालिदिन्थे । उनीहरुले धारामा पानी थाप्दा पनि हामीलाई नजिक पर्न दिन्थेनन् । बिहे, ब्रतबन्धमा बोलाउँदै बोलाउँथेनन् । मलाई पनि त बच्चामा हामी जातैले सानो होला जस्तो लाग्थ्यो । तर आज ठूलो भएर पढीलेखी ज्ञानीगुनी भई ती पल सम्झिँदा यो मन अझै धुरुधुरु रुन्छ ।
त्योबेलाको कुरागरी साध्यै छैन । पौडेल थर लेख्ने मेरो साथीकी आमाले एउटा होटलमा केही खाइँरहँदा म १४/१५ वर्षको बालक पुगेर अन्जानमा छोएको थिएँ, तिनले खाएकै ओकलेर फ्याँकिन् । बच्चामा साथीसाथीमा खेल्दा लात्तालात्ती हुँदा सापकोटा थरको केटाकी आमाले मलाई कामी हो कि दमाइको छोराले मेरो छोरालाई लात्ती हान्यो भन्दै मलाई बेस्सरी कराएकी थिइन् । यस्तो मेरी बहिनीहरुले पनि त कति सहे, सहे होलान् । मेरी आमाको मन कति भक्कानिन्थ्यो होला, कति रुन्थिन् होला आँखैअगाडि आफ्नो छोराछोरीलाई अरुले छिःछिः दूरदूर गर्दा । उनको पनि आफ्नै कथा–व्यथा त छँदैछ । यही थरको आधारमा समाजमा विद्यमान जातीय विभेदको कारणले अझै आफ्नो माइत जान पाएकी छैनन् मेरी आमा । म र मेरी बहिनीहरुलाई पनि मामामाइजू र त्यहाँका हजुजरबुबा, हजुरआमाको माया थाहा छैन ।
गैंडाकोटको करङघारीमा १६ वर्ष पनि नपुग्दै बालखैमा एउटी थापा थर लेख्ने गरिएकी मगर जात भनिनेकी छोरीसँग सानैमा प्रेम बस्यो । साह्रै गहिरो र गाढा पनि हुँदो रहेछ सानोको माया, जुन उनी अर्कैकी पत्नी भइसक्दा पनि झझल्कोमा अझै मेटिइसकेको छैन । त्यो हाम्रो माया बस्दा उनका आमाबुबा आफन्त र समाजले खुला चौरमा भेला नै राखेर हामीलाई छुटाउन बल गरेको थियो । तैपनि लुक्दै, छिप्दै हामी एकअर्काको सामीप्यता र आंलिगनमा रमाउँथ्यौं ।
त्यस्तो रुढिवाद र अन्धविश्वासले गाँजेको गाउँठाउँमा हेपिँदै चेपिँदै हुर्किएको ठिटो म । धन्न बाबुआमाले यस समाजसित लडाइँ गरेरै भएपनि, आफूले पेटभर खाइनखााइ भएपनि मलाई पढाए, लेखाए । अर्काको मेलापात गएर, क्रसर कम्पनीमा ढुंगा बोकेर, गिट्टी कुटेर मलाई स्कूल भर्ना गर्ने मेरी आमा हुन् । हरियो वन नेपालको धन भन्दै कापीमा कलमले अक्षर, शब्द, वाक्य लेख्न सिकाउने मेरी आमा नै हुन् । त्यही अक्षराम्भको फलस्वरुप आज पढ्दै लेख्दै देशको एक कलमवीर सिपाही अर्थात् पत्रकार हुन सकें । यस्तो विद्वत, बहादुर पेशामा आजकल मज्जाले रमाउन पनि थालेको छु । पत्रकारिता समाजको ऐना हो । यसलाई तेस्रो आँखा पनि भनिन्छ । वाच डग पनि पत्रकारिताको अर्काे नाम हो । राज्यका तिनै अंगमाथि निगरानी राख्नु, यो जीवन, जगत र देश–समाज नियाल्दै खबरहरु सुनाउनु र सत्य खोज्नु, बुझ्नु र अरुलाई बुझाउनु पत्रकारिता कर्मको धर्म हो । भाषा, अक्षर, शब्द र सिंगो ब्रह्मान्ड बुझ्नैपर्ने क्षेत्र हो पत्रकारिता । यस्तो गहन अभिभारा छ पत्रकारिता जगतको । नेपालमा पनि प्रेस स्वतन्त्रताका लागि अग्रजहरुको ठूलो त्याग, तपस्या रहिआएको छ । स्वतन्त्र पत्रकारिता गर्ने छुट हामीले पनि केही हदसम्म उपभोग गर्न पाएका छौं । शब्द, अक्षरमा खेल्ने, देश दुनियाँबारे जान्ने, जनाउने पत्रकारहरु एक किसिमको ब्राह्मण नै हुन् । खुकुरीको रुपमा कलम छ हातमा । देश र समाजको हितमा लडाइँ लड्न अग्रसर हुनुपर्ने अभिभारासहितको पत्रकार परिचयपत्र राज्यले दिएको छ । मैले पत्रकारिता सिक्न सुरु गरेकै करिब १५ वर्ष भयो । हालै यसैवर्ष प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट तक्मासमेत पाउन सफल भएँ ।
हिजो केवल बाबुआमाको नागरिकतामा उल्लेख भएको थरकै आधारमा छिःछिः दूरदूर भई त्यो गाउँठाउँमा बाँचेको म आज टाढा–टाढाका मान्छेको पनि वाहीवाही बटुल्दैछु । मेरो परिचय पनि फैलिँदैछ, मन पराउनेहरु बढेका छन् । साँच्चै अचेल त जसको पनि म प्रिय अनि छोउँछोउँ भएझैं लाग्छ आफूलाई । ठूलाबडा, राज्य सरकारका अधिकारीहरुको पनि निकटतम सम्बन्ध छ । तरुणी, युवतीहरु मसँग नजिकिन, मलाई हेर्न, छुन लालायित भइरहेको महसुस गर्छ‘ । मलाई लाग्छ यो मेरो कर्मको प्रतिफल हो । ममा दिनप्रतिदिन ब्राह्मण क्षत्री स्वभाव प्रबल हुँदै गइरहेको आभास हुन्छ आफैंलाई । पढाइ, लेखाइ, ध्यान, योग, वीरता, सुरताको गुण आफूमा विकसित गर्न म पनि तल्लीन छँदैछु । आफू जस्तो हुन खोज्यो, त्यस्तै बन्न सकिन्छ यहाँ । बस प्रयास हुनुपर्छ । प्रकृतिको यति विशाल भण्डार छ । खोजे के पाइँदैन यहाँ ? सत्य के हो ? हामी आफूभित्रै छ, यसै संसारमा भेटिन्छ । बस खोज र भेटबीच गहिरो योग र साधना हुनुपर्छ ।
धर्म, कर्म, चालचलन, संस्कार, सभ्यता, सोच व्यवहार, इज्जतप्रतिष्ठा नै व्यक्तिको जात हो । सबैभन्दा ठूलो विचार हो । मान्छेको विचारको तेज वा स्खलन त उसको अनुहार, आँखा र हाउभाउमै प्रदर्शित हुन्छ । यसै प्रसंगमा संस्कृत श्लोक ‘जन्मना जायते शुद्र, कर्मणा द्वीज उच्चायते’ सुनाउँदै जिल्ला प्रशासन कार्यालय चितवनका सहायक सिडिओ चिरञ्जीवी शर्माले भने, ‘जन्मँदा सबै शुद्र भएर जन्मन्छ, पछि उसको कर्मको आधारमा चाहिँ ब्राह्मण अर्थात् उच्च वर्ण (जात) प्राप्त गर्दछ ।’
त्यसैले भट्टराई, सापकोटा भन्ने बित्तिकै बाहुन, केसी वा थापालाई क्षेत्री, श्रेष्ठ लेख्दैमा नेवार, परियार हुँदैमा दमाई भन्ठान्ने सोच हाम्रो कल्पनामै डामिएको छ । अब जसरी हुन्छ यसलाई हरहालतमा हामीले बदल्नुछ । त्यसका लागि अब हरेक तल्लो जात वा दलित थरी भनेर नागरिकतामा लेख्दै आएकाहरुले आफ्नो थर नै बदल्नतिर लाग्नुपर्छ । नपाइने पनि होइन ।
जिल्ला प्रशासन कार्यालय चितवनका सिडिओ सुरेन्द्र पौडेलले मान्छेको आफ्नो पहिचानको अधिकार आफ्नै हातमा भएको भन्दै आफ्नो इच्छाले नामथर राख्न पाउने बताए । अर्थात् बाबुआमाको नागरिकताकै थर बच्चाले पनि लेख्नैपर्ने बाध्यता कानुनमा नरहेको उनको भनाइ छ । यसरी हरेक व्यक्तिले आफ्नो नाम नागरिकतामा इच्छाअनुसारले राख्न सकिने बताउँदै प्रमुख जिल्ला अधिकारीले भने, ‘त्यसका लागि जन्मदर्ता गर्दा नै मिलाउनुपर्छ ।’
बाबुआमाको नामथर नागरिकतामा जे लेखिएको भएपनि बच्चाको जन्मदर्ता गर्दा नामथर भनी अमन चयन, क्रान्ति वीर, प्रेम गीत आदि इत्यादि समेत राख्न पाइने सिडिओ बताउँछन् । ‘म थर नै लेख्दिनँ, एक शब्दको नाम मात्र राख्छु भनेपछि पाइन्छ’, उनले भने । यसरी सबैले पीडितहरुले अहिले कायम रहेको थर फेर्न थाले भने जातीय विभेदको खाडल छिट्टै पुरिने सिडिओ पौडेल पनि बताउँछन् । ‘प्रत्येक मानिस ब्राह्मण, क्षत्री, वैश्य र शूद्र हुन्छ ।’ सिडिओ पौडेल भन्छन्, ‘टाउको बाहुन हो । मुख पेट, भुँडी वैश्य, हातखुट्टा–छाती क्षत्री र हग्नेमुत्ने शुद्र ।’ यीमध्ये कसलाई बलशाली बनाउने त्यो आफ्नै प्रयत्नमा भरपर्छ ।
थर व्यक्तिको काम र पदवीको आधार छुट्टयाईएको थियो । भूगोल र भाषाको आधारमा पनि नेपालका विभिन्न जातजातिको वर्गीकरण गरिएको पाइन्छ । निश्चित भूगोलमा बस्ने, निश्चित भाषा बोल्ने समुदायलाई अलगअलग थर दिइएको थियो । जस्तै तामाङ, गुरुङ, राई, मगर भूगोलको आधारमा नामाकरण गरिएको मान्छेको जात हो । अहिले हामी अधिकांश कोही पनि आफ्नो भूगोलमा छैनौं । सिंगो विश्व नै ग्लोबलाइजेसन भइसकेको यो जमानामा हामी नेपालमै बस्ने पनि आफ्नो त्यो पुख्र्याैली थलोमा हामी कति नै छौं र ? धेरै त बसाइँसराइ गरी शहर केन्द्रित नै भएका छौं । सबैको रहनसहन चालचलन, धर्मसंस्कृति मिसमास भइसकेको छ ।
यहाँ आफ्नो शुद्धता जोगाउन कसैलाई सजिलो छैन । पछि जन्मेका कति सन्तानले त पुख्र्यौली थलो देखेका पनि छैनन् । आफ्नो भूगोलीय भाषा पनि धेरैलाई आउँदैन । आफ्नै देशको इतिहास त हामी धेरैलाई थाहा छैन । आफ्नो देशको पहिचान नै त्यागेर विदेशमा रमाउने त आफूलाई नेपाली हुँ भन्न पछि पर्दैनन् ¤ छोरा घरमै जिउँदै हुँदाहुँदै ससुरा बुहारी सुत्नेसम्मको अहिलेको जमानामा जात, धर्म राष्ट्र र राष्ट्रियताको कुरा नै सितिमिति पच्दैन र पो ?
टिप्पणीहरू