मरुभूमिमा सौर्य ऊर्जाको व्यापक उत्पादन

मरुभूमिमा सौर्य ऊर्जाको व्यापक उत्पादन

चीनले मरुभूमिमा सौर्य र वायु ऊर्जाका धेरै वटा पार्क निर्माण गरेको छ । मुलुकको उत्तरी क्षेत्रमा रहेको मरुभूमिमा सोलार प्यानल जडान गरेर ठूलो परिमाणमा सौर्य र वायु ऊर्जा उत्पादन गर्न थालिएको छ । कुनै बेला बाँझो र उजाड रहेको जमिनलाई सदुपयोग गरेर चीनले विद्युत उत्पादनको नयाँ क्षेत्रमा रुपान्तरण गरेको बताइएको छ । 

चीनको मंगोलिया स्वायत्त क्षेत्रमा रहेको मुलुकको सातौं ठूलो मरुभूमि कुबुछीमा सौर्य र वायु ऊर्जा उत्पादनको प्रक्रियालाई अघि बढाइएको छ । यो संसारको सबैभन्दा ठूलो ऊर्जा उत्पादनको क्षेत्र बन्ने चीनको अपेक्षा छ । 

चाइना थ्री गर्जेज कर्पोरेसन र इनर मंगोलिया इनर्जी ग्रुपले संयुक्त रुपमा परियोजना थालेका हुन् । चीनको दोस्रो ठूलो जलविद्युत केन्द्र पेइहेतान नजिकैको उक्त परियोजना १ करोड ६० लाख किलोवाट क्षमताको बताइएको छ । 

कुपुछीको पश्चिममा अवस्थित टेङ्गर चौथो ठूलो मरुभूमिमा पर्दछ । यो मरुभूमि निङसिया हुई स्वायत्त क्षेत्रको पूर्वी भागसम्म फैलिएको छ । यहाँ १० लाख किलोवाट क्षमताको फोटोभोल्टिक पावर प्रोजेक्टको पहिलो चरणको काम सम्पन्न हुने चरणमा छ । 

यी परियोजनाबाट अब छिट्टै विद्युत उत्पादन हुन थाल्ने बताइन्छ । सन् २०२१ देखि चीनले लगभग १० करोड किलोवाट संयुक्त क्षमता भएका धेरै परियोजनाहरु निर्माण गरिसकेको छ । त्यस्तै, अन्य मरुभूमि रहेका क्षेत्रमा ठूलो मात्रामा वायु ऊर्जा र फोटोभोल्टिक परियोजनाहरु विस्तार गर्ने कार्य पनि भइरहेको छ ।

स्रोत  : सिन्ह्वा ।

टिप्पणीहरू