स्वास्थ्य मन्त्रालयको गेटमा एक जोडी फोक्सो जडान

स्वास्थ्य मन्त्रालयको गेटमा एक जोडी फोक्सो जडान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा एक जोडी कृत्रिम फोक्सो जडान गरेको छ । मन्त्रालयको मूलद्धारमा आज कृत्रिम फोक्सो जडान गरिएको हो । 

'युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेशनल डेभलपमेण्ट'को स्वच्छ हावा परियोजनासँग समन्वय गरेर वायु प्रदुषण र त्यसले स्वास्थ्यमा पार्ने असरबारे आम नागरिकलाई सचेत गराउने उद्धेश्यले कृत्रिम फोक्सो राखिएको मन्त्रालयले जनाएको छ । वायु प्रदुषणसंगै यो फोक्सोको रङ्ग परिवर्तन हुँदै जाने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । 

वायु प्रदुषणले मानव स्वास्थ्यमा गरिरहेको असर फोक्सोले स्पष्ट देखाउने उनको भनाइ छ । त्यस्तै, उनले आउने दिनमा फोक्सो जोगाउनका लागि जनचेतना फैलाउने, सूचना केन्द्रहरुको स्थापना गर्नेलगायतका कार्यक्रमहरु गरिने जानकारी दिए । 

विश्वका १३१ मुलुकमध्ये धेरै वायुप्रदुषण हुने मुलुकमा नेपाल १६ औं स्थानमा रहेको उल्लेख गर्दै मन्त्रालयले सोबाट मृत्यु हुनेको संख्या उच्च रहेको बताएको छ । सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार एक सयको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्योमध्ये काठमाडौंमा मात्रै पाँच हजार ८० को ज्यान गएको मन्त्रालयको भनाइ छ । 

आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले दीर्घकालीन फोक्सो रोग मृत्युको ठूलो कारण बनेको जनाएको छ । वायु गुणस्तर खस्कँदै गएकाले प्रदुषण कम गर्न चेतना अभिवृद्धि एवम् सरोकारवाला निकायहरुसंग समन्वय गरिरहेको मन्त्रालयले जानकारी गराएको छ । 

‘वायु प्रदुषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरु बारे आम सर्वसाधारण सरोकारवालाहरुलाई सचेत गराउनुको साथै मास्क लगाउने र चरम प्रदुषणको समयमा सकेसम्म घर बाहिर ननिस्कनेलगायतका कदम अप्नाउन प्रोत्साहित गर्ने लक्ष्य मन्त्रालयको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

 

टिप्पणीहरू