विश्वासको मत दिएको एक सातामै कर्णाली सरकारबाट एमाले बाहिरियो

विश्वासको मत दिएको एक सातामै कर्णाली सरकारबाट एमाले बाहिरियो

नेकपा माओवादी केन्द्र तत्कालीन पाँच दलीय गठबन्धनमा फर्किएपछि संघीय सरकार छाडेको नेकपा एमाले धमाधम प्रदेश सरकारबाट पनि बाहिरिन थालेको छ ।

सत्ता गठबन्धनका दलहरुले प्रदेशमासमेत मिलेर सरकार बनाउन आन्तरिक तयारी तीब्र पारेपछि अप्ठेरोमा परेको एमाले सरकार छाड्न बाध्य भएको हो । यसैबीच एमाले आज कर्णाली सरकारबाट बाहिरिएको छ । 

मुख्यमन्त्री राजकुमार शर्मासमक्ष एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् । सरकारमा सहभागी तीन जना मन्त्रीले मुख्यमन्त्री शर्मालाई राजीनामा बुझाएसँगै एमाले सरकारबाट पूर्णतः बाहिरिएको हो ।

गत पुस २७ गते एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीलाई पहिलो पटक काँग्रेसका १४ सांसद बाहेक सबै सांसदले विश्वासको मत दिएका थिए । तर, राप्रपाले विश्वासको मत फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक विश्वासको मत लिँदा एमालेले पनि पक्षमा मतदान गरेको थियो ।  

विश्वासको मत दिएको एक सातामै एमालेले सरकार छाडेपछि अब कर्णालीमा काँग्रेसलाई सत्तामा जान बाटो खुलेको छ । आफ्नो नेतृत्वको बाहेक अन्य सरकार छाड्ने रणनीतिअनुरुप एमालेले यसअघि नै बागमती सरकार छाडिसकेको छ भने मधेसबाट हालै बाहिरिएको छ । अल्पमतमा परे पनि आफ्नै नेतृत्वको कोशी, गण्डकी र लुम्बिनी सरकार भने एमालेले छाडेको छैन ।  

प्रदेश १ मा हिक्मत कार्की मुख्यमन्त्री छन् । उनलाई माओवादी केन्द्र र राप्रपाको समर्थन छ । प्रदेशसभाको अंकगणित हेर्दा माओवादीले समर्थन फिर्ता लिए कार्कीलाई सरकार जोगाउन कठिन हुने देखिन्छ । 

त्यस्तै, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका लीला गिरीलाई माओवादीले साथ छाडिसकेको छ । सुदूरपश्चिममा भने त्यतिबेलाको सत्ता गठबन्धनको एउटा घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार ढलेर प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसले सरकार बनाएको हो ।

टिप्पणीहरू