नेपालमा बनेको गाडी दर्ताको प्रवन्ध मिलाउन मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन, मुख्यसचिवको आपूर्ति सचिवलाई

नेपालमा बनेको गाडी दर्ताको प्रवन्ध मिलाउन मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन, मुख्यसचिवको आपूर्ति सचिवलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ताका लागि विद्यमान कानुनी जटिलता अन्त्य गर्न निर्देशन दिनुभएको छ । 

नेपालमा निर्मित सवारी साधन दर्ता गर्न अप्ठेरो परेको गुनासो आएको भन्दै उहाँले कानुनको मस्यौदा अगाडि बढाउन तथा प्रोत्साहन नीति ल्याउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले आज बिहान मुख्यसचिव बैरागीलाई नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको बताउनुभएको थियो । त्यसका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई अर्हाउनु भएको बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू