जम्बो टोलीसँगै भरतपुर पुग्नुभएका प्रधानमन्त्रीले आज शिवनगरस्थित घरमा आराम गर्ने

जम्बो टोलीसँगै भरतपुर पुग्नुभएका प्रधानमन्त्रीले आज शिवनगरस्थित घरमा आराम गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जानुभएको छ । १९ जनाको जम्बो टोलीसँगै प्रधानमन्त्री आज अपरान्ह भरतपुर पुग्नुभएको हो ।

बुद्ध एयरको उडान नम्बर बिएचए ३५९ मा प्रधानमन्त्रीको टोली ४० जना यात्रुसँगै अपराह्न भरतपुर पुगेको बताइएको छ । प्रधानमन्त्रीसँगै चितवन गएको टोलीमा सरकारी अधिकारीहरु, उहाँका अंगरक्षक, सचिवाललय कर्मचारी, परिवारका सदस्य र पत्रकार छन् । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका निर्देशक उत्सव खरेल र अधिकृत नवीन अधिकारी प्रधानमन्त्रीको जम्बो टोलीमा सहभागी छन् । त्यस्तै, उहाँको सचिवालयका रमेश मल्ल र छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य, नाती प्रसिद्ध दाहाल र नवराज दाहाल पनि टोलीमा रहेको बताइएको छ । 

प्रधानमन्त्रीका अंगरक्षक प्रमुख सेनानी निरज भण्डारी र सहसेनानी आशिष थापा पनि सँगै छन् । त्यसैगरी, शिव खकुरेल, सिद्धराज न्यौपाने, मनोज थापा, फोटो पत्रकार प्रदीपराज वन्त, हेमन्त कार्की, हरि ढकाल, सन्जीव वराललगायत प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा सहभागी रहेको बुझिएको छ । 

विभिन्न न्युज पोर्टलका पत्रकारहरु पनि सोही उडानबाट चितवन पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नवलपरासीको गैंडाकोटमा आईएमई ग्रुपले सञ्चालनमा ल्याएको मौलाकालिका केबलकार उद्घाटन गर्न त्यता जानुभएको हो । भोलि एक समारोहका बीच केवलकार उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुप नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भाई हेमराज ढकालको हो ।

त्यसअघि भोलि बिहान भरतपुरमा प्रेससँग अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ । आज प्रधानमन्त्री प्रचण्ड शिवनगरस्थित आफ्नै निवासमा आराम गर्ने बुझिएको छ ।

टिप्पणीहरू