साहेबका सेवक : गुलाम रस्सुल गलवान

साहेबका सेवक : गुलाम रस्सुल गलवान

मेजर रोचे साहवलाई लिएर काश्मिर पुगियो । हामीलाई ४ महिनाको ज्याला पचास रूपैयाँ दिए । एकान्त स्थानमा बसेर पैसा गन्यौं । सबै गरेर सय रूपैयाँ भएछ । कलामले राम्रो कपडा, बुठ र पगरी किनौं र लेह जाँदा ठाँटिएर जाने बतायो । तर, केही नराम्रो काममा फसेर पैसा सक्यो । मैले, आमालाई काश्मिरी जुत्ता र केही भाँडा पनि किनें । 

बस्दाबस्दै फेरि अर्काथरी साहवहरू भेटिए । उनलाई लेह भएर यारकान्द जाने मान्छे चाहिएको रहेछ । तिनीहरू मिष्टर चर्च र फलेप्स थिए । धेरै दिनको हिँडाइपछि लेह आयौं । आमालाई कमाएको पैसा दिएँ । काश्मिरी चियाको भाँडा, कासगारमा किनेको रुसी कपडा पाएर खुशी भइन् तर आम्दानी देखेर अलि दुखी भइन् । पहिला धेरै पैसा ल्याउँथ्यौ, यो एक सालमा किन थोरै भनिन् । जम्मा १२ रूपैयाँ । कलाम रसुलको संगतले हो भन्ने बुझिन् । अब तिम्रो श्रीमती भइन्, हेर्न पर्छ भनिन् । मैले खराब गरेको छैन तर कपडा किनें भनें । केही दिनपछि कलाम रसुलले एक पैसा पनि आमा र श्रीमतीलाई नदिएको थाहा पाइछन् । कलामले भने सबै कपडा बेचेछ तर तिमीले नबेच है भनिन् ।

लेहमा युवाहरूका धेरैथरी पार्टी थिए । केही धनी मुसलमान टोली, केही बुद्धिष्टहरू तर हामी गरिब पार्टी । काम केही भएन । साहेवहरू आउलान् भनी पर्खेर बसियो । गरिब मात्र नभै मेरा धनी साथी पनि थिए हादजी नासर र हादर साह । धनी बुद्धिष्ट एक जना काश्मिरमा महाराजाको नोकरीमा थिए । मैले बुद्धिष्ट अक्षरहरू जान्न उर्दु पढ्न जान चाहें । एकदिन सिपाही लिन आए किनकि मलाई र कलाम रसुललाई बोलाएछन् बजिरले । टेलिग्राम आएको रहेछ– फ्लेप्स साहेव र चर्च साहेवको । बजिरलाई पढ्न नआउने अंगे्रजी । हामी दुईलाई नआउन्जेल थुन्नु पो भने । हामीले काश्मिरमा कुनै गल्ती गरेकै थिएनौं भन्यौं । टेलिग्राम त्यहींका पद्रे साहेवलाई देखाइयो । बजिरले गलत बुझेका पो रहेछन् । हामीलाई काम दिन लेखिएको रहेछ । खुशी भयौं ।

साहेवहरूसँग कारा कुचान गइयो । तिमीलाई म अब शिकारीको काम दिन्छु भने । काश्मिरी शिकारीले बन्दुकको बारेमा सिकाए । माराल बासीमा एकजना आईमाईले श्रीमानलाई मारेकी रहिछ । हामी हेर्न गयौं । कस्ती खतरनाक रहिछे जस्तो लाग्यो । काराकुचान छाडियो, मुराल बासी आयो । साहेवबाट भेंडा र चामल उपहार पाइयो । लामाहरूले पकाउने तरिकाले पकाऊँ भनेर सल्लाह गरेको घोडा छैनन् । यता खोज्यो पाइन्न, उता खोज्यो पाइन्न । बाटै हरायो । कसरी फर्कने भन्ने भयो । राती मलाई खोज्दै फ्लेप्स साहव आए । किन चिन्ता गरेको भनेर सम्झाए । दुई जना दाह्रीवालाले भेटेर ल्याइदिएका रहेछन् । साहेवको न्याय देखेर खुशी लाग्यो । मृगको शिकार भयो । मुरालवासीमा चिनियाँ भेटिए । हाम्रो मेशमा पानी माग्न आए, पानी जुठो गर्दिए भनेर हाम्रो साथी गाफोरले भन्दा चिनियाँले हातले पिटे, गाफोरले पनि पिटे पछि धेरै चिनियाँ आए । फाइट चल्यो । पछि ठूलो चिनियाँ आएर सम्झाई शान्त भयो । राती सिपाहीसहित आए । हामीलाई मार्न आए दिउँसोको घटनाले भनेर ज्यादै डरायौं । साहेव पनि डराए । कोही भागे । मैले एकजनालाई भेटें । खासमा कासगारमा चिनियाँ ठूलो कर्णेल मरेका रहेछन् । उनको मृत शरीरलाई चीनको मुख्य शहर लैजान लागेका रहेछन् । करिब ४ हजार किमीको बाटो कसरी लैजाने होलान्, कति दिन लाग्ने होला ? 

एकजना आईमाईले श्रीमानलाई मारेकी रहिछ । उनकाे मृत शरिरलाई  ४ हजार  किमीकाे बाटाे कसरी लैजाने हाेलान, कति दिन लाग्ने हाेला ?

बिहान तिनै कर्णेल र सिपाहीको अन्तिम संस्कार हेरियो । अम्बान र थुप्रै मानिस आए । हाम्रा साहेवहरू पनि सहभागी भए । त्यसपछि साहवहरूको आवत जावत चिनियाँहरूसँग भयो । तुर्कीलाई साथ लिएर जंगलमा शिकार भयो । क्याम्प फायर गरियो । टोलीमा सहभागी लास्को, माम्दो, कुर्वान, मुधी, गाफोर, रमजान थिए । धेरैले पैसा खराब काममा सके, मलाई अघिल्लो पटक आमाले भनेको याद आयो । अब तेरो श्रीमती पनि छ भनेर मैले खर्च गरिन । फेरि यारकान्द आइयो । धेरै लदाखी साथीहरू, मेरो भाइ र सुकुर गलवान सँग भेट भयो । साहेवहरू दुईजनाले खुल्ला चउरमा पोलो खेले, हामीलाई पनि सिकाए तर सकिएन । त्यहाँ बाल्टी छन् भन्ने थाहा पाएछन् साहेवले । अलि पाको वाली भेटिए । उनैले गाइड गरेर क्याप्टेन योङहस्ब्याण्डलाई सन् १८८७ मा मुस्ताङ पासको बाटो लगेका रहेछन् । 

साहेवले हामीलाई पनि मुस्ताङ पास भएर बाल्टिसान लैजाऊ भने । वालीले म सक्दिन, मलाई कुनै पनि विदेशीलाई मुस्ताङ पास गराएर नल्याउनु । अब गएँ भने मार्छन् भने । पहिलाको कुरा हो, बिर्से होलान् यसपाली लैजाऊ भने । वालीले केही बाल्टीसँग सल्लाह गरेर भन्छु भने । पछि जान्छु भने । तीनजना बाल्टीसहित जाने सल्लाह भयो । पैसाको कुरा चल्यो । साहेवले पहिला पामिर, रस्काम अनि मुस्ताङ पास भएर जाने भने । वाली सहमत भए । चिनियाँ नयाँ वर्षको भव्य उत्सव हेरियो । सुकुर गलवानले सबै लद्दाखीलाई पार्टी दिए । मेरो घुँडाले दिनु दुःख दियो, हिंड्नै भएन । साहेवले औषधि दिए, पट्टी बाँधें, ठीक भएन । सबैले मलाई छिट्टै मर्छ भने । मेरो साथी रमाजानले धेरै सहयोग गरे । एकदिन दुवै साहव र साथीहरू मछेउ आए । खुशी लाग्यो तर दुःखको समाचारले सबै आएका रहेछन्, पछि थाहा पाएँ । खासमा लेहमा मेरी श्रीमतीको निधन भएको रहेछ । त्यो बेला भने सुनाएनन् । साहेवले नभन्नु भनेका रहेछन् । मेरो घुँडाको रोग निको पार्न दुईजना मुल्लाहले मन्त्रहरू गरे पट्टी बाँधे । विस्तारै ठीक भयो । साहेवले मलाई कमजोर भएकाले तीनवटा अण्डा दैनिक खान दिए । 

लामो दिन हिँडेपछि ४ जना बाल्टिस गाइडहरू आए । साहेवले म र गुलाम रसुललाई मुस्ताङ पास जान सँगै अघि बढाए । नयाँ देश देखिने भयो जस्तो लाग्यो । बडो गाह्रो बाटो, डरलाग्दो । घोडाहरू लडेर मरे, सामान पोखिए, चिसोको कुरो गरिसाध्यै भएन । एउटा पास पार भएपछि तल भ्याली आयो । घरहरू छन्, मानिस छैनन् । कुन्जुटी अर्थात् हुन्जाहरूले दुःख दिएर छाडेका । तिनै विरुद्ध हो योङहस्ब्याण्डले १८८९ मा फौजी अपरेशन गरेर धेरैलाई मारेका । अहिले ब्रिटिशको अधिनमा परेको कारण पलायन भएका स्थानीय मानिस फर्कन सक्ने भएछन् । अर्को दिन ठूलो रासकुम भ्याली पुगियो । धेरै सुन्दर भ्याली जंगलले घेरिएको । बाल्टिस गाइडले अब मुस्ताङ पास आउने बतायो । साहेव हामी सबैले तयारी गरियो । ८ दिनको खाना हुनुपर्ने बताए । त्यहाँबाट अघिल दभान आउने । गुलाम रसुल अलि म भन्दा पाको भएकोले कता बाल्टीले हामीलाई गलत बाटो त लगेनन् भनेर सतर्क गराए । सवैतिर हिउँ मात्रै, जानै नसकिने बाटो । तीनतिर तालहरू । साहेबले सोधे– जान सकिन्छ कि सकिन्न ? मैले सकिँदैन भनें । हामी सरकारको आदेशले आएको हो, मरे मरिन्छ । तिमी सक्दैनौ भने नआऊ भने । म मा पनि साहस आयो । यदि साहेब जाने हो भने म पनि जान्छु, सँगै मर्छु भनें । तिमी राम्रो मान्छे रहेछौ भने । अन्ततः साहेब पनि जान सकेनन् । यस्तो खतरनाक स्थानमा मर्न सकिँदैन, हामी साहीदुला फर्केर लेह जाऊँ भनें । मैले हुन्छ सर भनें । 

हामी फर्कियौं । खानेकुरा सकियो । ७ जना थियौं । झण्डै मरिएको भनेर ज्यादै डराए । साहेवको गोडा चिसो भएकाले हामीले पेटमा राखेर ततायौं । भोलिपल्ट झन् हिउँ प¥यो गहु्रँगा सामानहरू फाल्दिन भने साहेवले । साहेबले ब्राण्डी पिउन भने, पिउँदैनौं सर भनेको यसले जाडो भगाउँछ भने । रसुलले आधा कप र मैले आधा पिएँ । पूरै पेट पोल्यो । हिंड्दा हिंड्दै साहेवसँग छुट्यौं । त्यो रात अलग अलग भइयो, बडो चिन्ता लाग्यो । बिहान भेटिए साहेव । हामी भेटिएर खुशी भए । बाटोमा ब्राण्डी पिइदिएर गल्ती गरियो सर भनें । साहेवले ठीक छ, कमसेकम बाँच्यौ भने । खाना सकिंदै गएकाले शिकार गर्नुपर्ने भयो । सुगेत पुग्न हिंडियो । बाली बाल्टी पछि आउँछु भनेर छकाए, २ दिनसम्म आएनन् । पहिला लुकाएको मासु बाल्टीहरूले खाएछन् । हड्डी मात्र बाँकी देखियो । आगो बालेर त्यही पनि उमालियो । एकपछि अर्को बाल्टीले धोका दिंदै गए । रसुलले मैले पहिल्यै भनेको हैन भनेर सम्झाए । कसैले मानेन मेरो कुरा । अब दुई साहेव र हामी २ रसुल मात्र बाँकी भइयो । 

एकदिन पहाडमा घर भेटियो ढोका बन्द, मैले ढोका फोडेर भित्र गएँ । त्यहाँ पुग्दो चामल भेटियो । त्यही पकाएर खाइयो र केही लिएर पनि हिंडियो । ठूलो भ्याली पुगियो, घोंडाहरू चरेको देखेर आश पलायो । केही मानिस भेटिए । मैले तुर्कीमा कहाँबाट आएको भनेर सोधें । पाक्पोबाट बजा दारा फोर्ट जान भने । तिनीहरू ताजिक रहेछन् हामीलाई कन्जुटीको डाँकु हुन् भनेर डराएका । मैले साहेव भेटाइदिएँ, कहिल्यै विदेशी नदेखेका । हामीलाई पाक्पोसम्म जान मुश्किलले घोंडा र एकजना दिने भए । हामीले पैसा दियौं । खानेकुराको ब्यवस्था भयो, साहेव खुशी भए । अब पाक्पो भ्याली आइयो । 

मानिसहरू भेटिए, पाल बाहिर आए, मलाई कता डाँकुको सदस्य त हैन भन्ठानेछन्, मैले फेहरिस्त बताएँ । खुशी भए, खानेकुरा दिए । साहेवहरू आउँदै गरेकोले सबै तयारी गरें । भेंडा किनें । साहेव आएपछि खुशी भए । बाटोमा पाका मुहमद फेजुल्ला भेटिए । उनले हामीलाई चिन्ने रहेछन् । सुकुर गलवानका छोरा पनि ! कुगियार पुग्यौं । सुकुर गलवान भेटिए । मैले यात्राको कठिनाइबारे बताएँ । तिमी मसँगै यारकान्द बस्छौ भने यस्तो दुःख पाउँदैनौ भने । साहेवलाई राम्रो तयारीका साथ पार्टी दिने भए । साहेवले किन यस्तो दुःख बेसाएको भने । साहेवहरू ठूलो पाहुना हो, त्यसैले सम्मानमा गरेको भनेर भव्य तयारीका साथ पार्टी दिए । 

यो कठिन यात्राबाट पनि बाँचेर पुनः आफ्नै लेह आइयो । यसपाली राम्रो पैसा कमाएको र आमालाई दिएकोले ज्यादै खुशी भइन् । मेरो श्रीमती बितेकी थिइन् । साथीहरूसँग यताउता गरेर बिताइन् । तिम्रो पहिलाको श्रीमती असल थिइन्, तिनले छाडेर गएपछि धेरै सम्झनाहरू आइरहन्छन् । अब उमेर लामो छ, अर्को बिहे गर्न भनिन् । आमालाई हेरेर कुरा गर भनेको तिमीले पहिला हेर्दै नहेरी कसरी गर्नु भनिन् । त्यहाँ तमाशा लाग्ने रहेछ मेला । कलाम र म त्यो मेलामा गइयो । त्यहाँ ती केटीलाई देखें । घरमा आएर आमालाई कुरा अघि बढाउन भनें । हामी त धेरै खर्च नगर्नेमा थियौं, लद्दाखी साथी सोनाम वाङदुसले भब्य गर्नुपर्छ, नपुगे हामी सहयोग गरौला भनेर उक्साए । मेरा धेरै बुद्धिष्ट साथीहरू थिए, उनीहरूले भनेअनुसार पनि गर्नै पर्ने भयो । साथीहरूको समूह लिन गयो । हिन्दू बुद्धिष्ट सबै आए । केही न केही उपहार ल्यायो । सबैको टिप्ने चलन थियो, उनीहरूको पर्वमा यसरी नै फिर्ता गर्ने चलन छ । ठूलो पार्टी दिइयो । यारकान्दी, बाल्टी र गिलगिटका नाच देखाए साथीहरूले । म, दुःखीलाई अब फेरि भरियाकै काम खोज्नुपर्ने भयो ।
 

टिप्पणीहरू