बाँदरले दुःख नदिने, मनग्गे आम्दानी हुने खेती

बाँदरले दुःख नदिने, मनग्गे आम्दानी हुने खेती

गुल्मीको ईस्मा गाउँपालिकामा कागतीको व्यावसायिक खेती शुरु गरिएको छ । ‘व्यवसायिक कृषि कार्यक्रम’ अन्तर्गत कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा वडा नम्बर ४ मा कागती खेती थालिएको हो । 

गत आर्थिक वर्षदेखि थालिएको कागती खेतीका लागि स्थानीय र सहकारीमार्फत ९५ जना कृषक आबद्ध छन्  । गत आर्थिक वर्ष त्यहाँ २१५ रोपनी क्षेत्रफलमा कागतीको बिरुवा रोपिएको थियो । 

यस आर्थिक वर्षमा २७५ रोपनी क्षेत्रफलमा कागतीको बिरुवा रोप्ने तयारी भएको छ । स्थानीय तहले युवाहरुलाई कृषिसँग जोड्नका लागि समूह र सहकारीमार्फत कृषि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले बताए । 

कागती खेतीको विस्तारका निम्ति केन्द्रले गत आर्थिक वर्षमा २५ लाख र यस वर्ष १५ लाख गरी कुल ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।  केन्द्रका प्रमुख नवराज भण्डारीले कागती खेती गर्ने कृषकहरुलाई सिचाइँमा ८५ प्रतिशत र बिरुवा, खाडल, मलखाद तथा मेसिनरी आंैजार उपकरणमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिए । 

त्यस्तै, कागतीको उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले क्षेत्रफल विस्तार, सिचाइँका लागि पानी ट्याङ्की, मिनिट्रेलर, पाइप, स्प्रेयर, विषादी र जैविक मललगायतका सामग्रीसमेत हस्तान्तरण गरिएको उनको भनाइ छ । 

भौगोलिक रुपले पनि उपयुक्त रहेको उक्त ठाउँमा गत र यस वर्ष गरी १० हजारभन्दा बढी कागतीका बिरुवाहरु लगाउने तयारी गरिएको कृषकहरु बताउँछन् । स्थानीय र प्रदेश सरकारले कृषि उत्पादन क्षेत्रमा व्यवसायिक कृषक, समूह र सहकारीलाई अनुदान उपलब्ध गराउन थालेपछि कागती खेतीतर्फ आकर्षण बढेको हो ।

पछिल्लो समय मुलुकका अन्य जिल्लाका ग्रामीण भेगमा बाँदर आतंकका कारण कृषकहरु अन्नबालीबाट विस्थापित भएर कागती र बेसार खेतीमा आकर्षित भएको बताइन्छ ।

टिप्पणीहरू