हिक्मत कार्कीको रिट तीन न्यायाधीशको पूर्ण इजलासमा
कोशी प्रदेश सरकारको वैधतामा प्रश्न उब्जाएर दायर गरिएको रिट सर्वाेच्च अदालतको पूर्ण इजलासमा गएको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमामथि सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । हिजो न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश गरेको थियो ।
यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मुद्दा छिटो टुंगो लगाउनेगरी सबै कागजात झिकाउने आदेश गरेको थियो । सो आदेशमा प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि भनिएको थियो ।
कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै त्यसलाई बदर गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा रिट दर्ता गराएका थिए । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाइएको छ ।
टिप्पणीहरू