सुदूर पश्चिम सरकारमा माओवादी र नागरिक उन्मुक्ति सहभागी हुने
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीहरु सुदूरपश्चिम सरकारमा सहभागी हुने भएका छन् । आफूले माग गरेको मन्त्रालय नपाएपछि ती पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा गएका थिएनन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले नागरिक उन्मुक्तिलाई दुई र माओवादीलाई रोजेको मन्त्रालय दिने सहमति गरेपछि पर्सि सरकार पुनर्गठन हुने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरीलगायत उपस्थित थिए ।
टिप्पणीहरू