उपचारका क्रममा बितेका बिरामीको ‘डेथ अडिट’ अनिवार्य

उपचारका क्रममा बितेका बिरामीको ‘डेथ अडिट’ अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारको क्रममा मृत्यु भएका बिरामीको अनिवार्य ‘डेथ अडिट’ गर्न निर्देशन दिएको छ । 

उपचारको क्रममा मृत्यु भएका बिरामीको मृत्युको कारण पहिचान गरी प्रतिवेदन बनाउन मन्त्रालयले निर्देशन दिएको हो । आज सबै संघीय अस्पताल, प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पताललाई पत्राचार गर्दै अस्पताल प्रमुखको नेतृत्वमा प्रतिवेदन बनाएर स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक सेवा महाशाखामा पठाउनुपर्ने मन्त्रालयको निर्देशन छ । 

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३८ ले स्वास्थ्य संस्थामा उपचार लिइरहेको अवस्थामा कसैको मृत्यु भएमा मृत्युको कारण पहिचान गर्न परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार प्रतिवेदन बनाउन मन्त्रालयले भनेको हो । 

‘स्वास्थ्य संस्थामा उपचार लिइरहेको अवस्थामा कसैको मृत्यु भएमा मृत्युको कारण पहिचान गर्न तोकिएबमोजिम परीक्षण गरिनेछ भन्ने व्यवस्था भएअनुसार सबै अस्पतालहरुले अस्पताल प्रमुखको नेतृत्वमा समिति बनाई डेथ अडिट गरी उपचारात्मक सेवा महाशाखामा यथाशीघ्र प्रतिवेदन पठाउनहुन मिति २०८०–४–१६ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।

टिप्पणीहरू