फार्मेसी सञ्चालन गर्न अस्पतालहरुलाई एक महिनाको समय

फार्मेसी सञ्चालन गर्न अस्पतालहरुलाई एक महिनाको समय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले औषधी तथा औषधीजन्य सामग्रीहरु २४ सै घण्टा बिरामी वा बिरामीको कुरुवाले प्राप्त गर्न सक्नेगरी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने बताएको हो । 

मन्त्रालयले सम्पूर्ण निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्राचार गर्दै एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न भनेको छ । 

राष्ट्रिय स्वास्थ्य नीति, २०७६ को रणनीति ६,१०,२, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २९, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को परिच्छेद–१५, अस्पतालहरुको न्यूनतम सेवा मापदण्डको २,५,१,४ तथा अस्पताल फार्मेसी निर्देशिका, २०७२ मा अस्पताल फार्मेसी सञ्चालन कार्यान्वयनसम्बन्धी व्यवस्था रहेको छ । 

हाल अस्पताल फार्मेसी निर्देशिका, २०७२ कार्यान्वयनमा रहेको र उक्त निर्देशिकाको प्रस्तावना तथा दफा २० ले आफ्नै स्वामित्व रहेको अस्पताल फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । 

‘आफ्नै स्वामित्वमा रहेको अस्पताल फार्मेसीमार्फत अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधी तथा औषधीजन्य सामग्रीहरु २४ सै घण्टा बिरामी वा बिरामीको कुरुवाले प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गरी अस्पताल फार्मेसी सेवा प्रदान गर्नुपर्ने रहेको साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी अस्पतालहरुको न्यूनतम सेवा मापदण्डमासमेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधान विद्यमान छ’, पत्रमा उल्लेख छ । 

त्यस्तै, मन्त्रालयले आफ्नो स्वामित्वमा अस्पताल फार्मेसी नभएका स्वास्थ्य संस्थाहरुलाई एक महिनाभित्र सञ्चालन गरेर सोको जानकारी पठाउन निर्देश गरेको छ । सो अवधिमा फार्मेसी सञ्चालन नगरेमा कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू