क्षेत्रीय शान्ति र सुरक्षाका निम्ति विवाद टुंग्याउनुको विकल्प छैन : पाकिस्तान
काठमाडौंस्थित पाकिस्तानी दूतावासले विवादित जम्मु–कश्मीरबारे छलफल गर्न गोष्ठीको आयोजना गरेको छ । दूतावासले आज ‘कश्मीरीहरुको यूम–ई–इस्तेसल’ विषयमा छलफल गरेको हो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले भारतले विवादित क्षेत्रबारे उत्तेजक अभिव्यक्ति दिइरहेकोमा गम्भीर आपत्ति जनाउनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूतले सन् २०१९ अगष्ट ५ माको घटनाक्रम अन्तर्राष्ट्रिय जगतलाई स्मरण गराउँदै भारतले मानवअधिकार उल्लंघनलाई तीव्रता दिएको बताउनुभएको छ । स्थानीयलाई हटाएर भारतले ‘इन्डियन इलिगल्ली अकुपाइड जम्मु एण्ड कश्मीर, आईआईओजेके’ मा अन्यत्रका मानिसलाई बसोबास गराएको पाकिस्तानको भनाई छ ।
गोष्ठीमा त्यहाँ भइरहेको रंगभेदको कुरो पनि उठाइएको बताइन्छ । आगामी चुनावी लाभको निम्ति भारतले ‘फ्लस फ्ल्याग अपरेशन’ गरेको र बहुमतलाई दबाएर खतरनाक बाटो अपनाइरहेको पाकिस्तानी आरोप छ ।
गोष्ठीमा राजदूतले सन् २०१९ अगष्टमा भएको आत्मनिर्णयको अधिकारको केन्द्रविन्दु र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावबारे जानकारी गराउँदै सन् २०२० जनवरीमा भएको छलफलबारे पनि ध्यानाकर्षण गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।
राजदूतले जम्मु र कश्मीरका जनताको चाहना र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावअनुसार विवाद समाधान गर्न आग्रह गर्दै भन्नुभएको छ, ‘क्षेत्रीय शान्ति सुरक्षाका लागि दशकौंदेखि भइरहेको विवाद टुंग्याएर अघि बढ्नुको विकल्प छैन ।’
गोष्ठीका सहभागीहरुले भारतीय सेनाले जम्मु र कश्मीरमा मानवअधिकार हनन गरेकोप्रति आपत्ति जनाएको बताइएको छ ।
टिप्पणीहरू