प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, एअरपोर्टमा भव्य स्वागत
एक साता लामो चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनुभएको छ । उहाँ आज बिहान एयर चाइनाको जहाजमा छेन्दुबाट काठमाडौँ आइपुग्नुभएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री उतैबाट ६ असोजमा चीन पुग्नुभएको थियो । भ्रमणका दौरान उहाँले चिनियाँ राष्ट्रपति सि चिनपिङ र समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो ।
एसियन खेलकुदको उद्दघाटन समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा अन्य उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुका साथै चीनका विभिन्न क्षेत्रको भ्रमण पनि गर्नुभएको थियो ।
उहाँलाई सिचुवान प्रान्तका भाइस गभर्नर याङ्ग चिनपिङ, नेपालका लागि चिनियाँ राजदूत छन सङ्ग, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलबाट विदाई गरेका थिए ।
सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेतालगायतले प्रधानमन्त्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो ।
टिप्पणीहरू