त्रिकोणात्मक सिरिजमा नेपालको सुखद् सुरुवात

त्रिकोणात्मक सिरिजमा नेपालको सुखद् सुरुवात
सुन्नुहोस्

घरेलु मैदानमा आजदेखि शुरु भएको त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । सिरिजको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । 

मूलपानी अन्तर्राष्ट्रिय मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पाली खेले । ५१ रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित ९३ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । कप्तान पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल १४ रनमा आउट हुँदा हार्डहिटर कुशल मल्ल ११ रनमा रन आउट भएका थिए । अर्का ओपनर आशिफ शेखले २३ रनको योगदान दिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । खराब सुरुआत गरेको यूएईको इनिङ हमिदले नै उकासेका थिए । 

करण केसी एक्लैले यूएईको ३ विकेट लिए भने गुलसन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहोराले समान १ विकेट लिए । 

नेपालमै हुने विश्वकपको एसिया छनोटको तयारीस्वरूप आयोजना गरिएको त्रिदेशीय शृंखलामा नेपाल, यूएई र हङकङ सहभागी छन् । नेपालले दोस्रो खेल भोलि मूलपानी मैदानमै हङकङविरुद्ध खेल्दैछ ।

टिप्पणीहरू