ओहोदाको प्रमाणपत्र बुझाउन नयाँ दिल्लीबाट राजदूतहरुको आगमन
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँ दिल्लीबाट राजदूतहरु काठमाडौ आउने क्रम शुरु भएको छ । नेपालका लागि पनामा र बेल्जियमका गैरआवासीय राजदूतहरु काठमाडौं आउन लागेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार पनामका राजदूत श्रीमती यासिएल एलिनेस बुरिल्लो रिभेरा बिहान साढे ९ बजे काठमाडौं आइपुगेकी छन् । उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५७ मा नयाँ दिल्लीबाट आएकी हुन् ।
उनी शनिबार सोही विमान कम्पनीको उडानमा काठमाडौंबाट फर्कने कार्यक्रम छ । राजदूत रिभेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाई गर्न मन्त्रालयका शिष्टाचार अधिकृतलाई खटाइएको छ ।
आजै साँझ नेपालका लागि बेल्जियमका गैरआवासीय राजदूत दिदिएर वान्देरहासेल्ट पनि काठमाडौं आइपुग्दै छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति पौने ९ बजे आइपूग्ने बताइएको छ । उनी पर्सि दिउँसो एअर इण्डियाको उडानमा नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।
भोलि राष्ट्रपति कार्यालय, शीतल निवासमा विशेष कार्यक्रम राखिएको छ । जसमा केही मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाउँदैछन् ।
टिप्पणीहरू