केन्द्रीय कमिटी बैठकमा माधव नेपाल - एमालेबाट छुट्टिने निर्णय सही, संविधानमाथिको खतरा टरेको छैन

केन्द्रीय कमिटी बैठकमा माधव नेपाल - एमालेबाट छुट्टिने निर्णय सही, संविधानमाथिको खतरा टरेको छैन
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बिद्रोह गर्ने तत्कालिन समयको निर्णय सही सावित भएको बताउनुभएको छ ।

आजदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उहाँले डेढ वर्षअघि एमालेबाट छुट्टिएर गरेको विद्रोहले सार्थकता पाएको दाबीका साथ सो धारणा राख्नुभएको हो । कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको रक्षा, अधिनायकवादलाई परास्त गर्नका साथै कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउन एमालेबाट बिद्रोह गर्नुपरेको जिकिर गर्नुभयो । 

मूलत: संविधान बचाउनको लागि आफूहरुले एकीकृत समाजवादी गठन गरेको स्मरण गर्दै अध्यक्ष नेपालले भन्नुभयो, 'डेढ वर्ष अघि छुट्टीएर सही गयौँ । कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको रक्षा गर्न, अधिनायकवादीलाई परास्त गर्न, कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउन हामीले पार्टी बनायौँ । यसमा हामीले धेरै काम गर्नू छ ।'

पार्टीलाई अझै वैचारिक र नीतिगत रुपमा प्रष्ट पार्न आवश्यक रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । 'अझै पार्टीलाई विचारमा प्रष्ट, नीतिमा प्रष्ट पार्टी बनाउनु छ, बनाउनेछौँ', नेपालले भन्नुभयो ।  

पछिल्लो समय फेरि संविधानमाथि आक्रमण बढेको उल्लेख गर्दै उहाँले त्यसविरुद्ध क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्नेमा पनि जोड दिनुभएको छ । 'अहिले पनि फेरि संविधानमाथि आक्रमण बढिरहेको छ । प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्', भन्नुभयो, 'यसका विरुद्ध हामीले मोर्चाबन्दी गर्नुपर्छ ।'

टिप्पणीहरू