‘ईपीएस पीडित’ को आन्दोलनमा दुई युवाको निधन

‘ईपीएस पीडित’ को आन्दोलनमा दुई युवाको निधन
सुन्नुहोस्

कोरिया पीडित भनिएका युवाहरुले आज दिउँसो ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाअगाडि गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको छ । 

झडपमा घाइते भएका डोटीका २२ वर्षीय वीरेन्द्र शाह र अछामका २३ वर्षे सुजन राउतको मृत्यु भएको हो । आज बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरुले दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । आन्दोलन अराजक बन्दै गएपछि प्रहरीले अश्रुग्याँस हान्नुका साथै हवाई फायरसमेत गरेको थियो । 

शाहको पाटन अस्पतालमा र राउतको किष्ट हस्पिटलमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

ईपीएस कोरियन भाषा परीक्षाअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुलाई ईपीएस कार्यालयले पुनः आवेदन दिन नपाउने व्यवस्था गरेको थियो । त्यसविरुद्ध युवाहरु अदालतसम्म पुगेका थिए । 

हिजो उच्च अदालत पाटनले उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर, ईपीएस कार्यालयले रिट दायरकर्ता १८ जनालाई मात्रै आवेदन दिन आह्वान गरेपछि आज अरु विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

टिप्पणीहरू