दुर्घटनापछि थलिएका मेयर काममा फर्किए
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सिरहाको शुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवले औपचारिक रुपमा कार्य सञ्चालन गरेका छन् । एक महिनापछि उनले कार्यालय पुगेर काम थालेको बताइएको छ ।
वैशाखीको सहारामा कार्यालय पुगेका उनले पहिले कर्मचारीहरुको बैठक राखेका थिए । मेयरको स्वास्थ्य लाभको कामना गर्न आउने शुभचिन्तकहरुको नगरपालिकामा भीड लागेको थियो ।
उनी सवार मोटरसाइकलले बाटो काट्ने क्रममा कुकुरलाई ठक्कर दिएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा उनको दाहिने खुट्टा र हातमा गहिरो चोटपटक लागेको थियो । उनी काठमाडौंमा उपचार गरेर फर्किएका हुन् ।
शुखिपुरस्थित प्राथमिक उपचार केन्द्रमा कार्यरत छोरा लुशुनले नै बुवाको रेखदेख गरिरहेको नगरपालिकाका योजना शाखाका प्रमुख इञ्जिनियर डोमी यादवले बताए ।
नेकपा एमालेको मधेश प्रदेश कमिटीका निवर्तमान अध्यक्षसमेत रहेका उनको मेयरमा यो दोस्रो कार्यकाल हो । किसान आन्दोलनबाट राजनीतिमा लागेका उनले माछापालन गरेर राजनीति गर्दा लागेको ऋण तिरेको विषय निकै चर्चित बनेको थियो ।
टिप्पणीहरू