कांग्रेसले बल गर्ने, कम्युनिष्टले नछाड्ने

कांग्रेसले बल गर्ने, कम्युनिष्टले नछाड्ने

राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति गरेका सत्तारुढ गठबन्धनका दलहरू सीट भागबण्डाका लागि छलफलमा जुटेका छन् । गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आज छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई पार्टीका शीर्ष नेताको छलफलमा यसअघिको मतभार र अहिलेको अवस्थालाई आधार बनाएर भागबण्डा टुंगो लगाउने समझदारी जुटेको बताइएको छ । 

गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीट बाँडफाँट मिलाउन नेताहरु सहमत भएको भनिएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको दोस्रो तहका नेताले यसअघि नै भागबण्डाको मोटामोटी खाका बनाइसकेको र त्यसैको वरपर सहमति जुट्ने ​​​​दावी छ । त्यसो हुँदा कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले एक सीट पाउने सम्भावना छ ।

भागबण्डाको टुंगो नलाग्दै सांसद बन्न गठबन्धनका सबै दलभित्र आकांक्षीहरूको दौडधुप भने शुरु भैसकेको छ । समावेशिताका आधारमा हुने निर्वाचनका लागि उम्मेदवार हुन यौटै पार्टीबाट सयौँको नाम सिफारिस भएको छ । त्यस्तै, अध्यक्षका लागि पनि आन्तरिक रस्साकस्सी चलिरहेको छ । 

कांग्रेसले पूर्व गृहमन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याउने तयारी गरिरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट २–२ चोटि पराजित सिटौलालाई अध्यक्ष बनाएर व्यवस्थापन गर्ने सभापति शेरबहादुर देवुवाको जोड रहेको बताइन्छ ।

राष्ट्रिय सभा अध्यक्षमा एकीकृत समाजवादीले पनि दावी गर्ने तयारी गरेको छ । सो पार्टीले अध्यक्ष पाए उपाध्यक्षसमेत रहेका कृषि मन्त्री डा. बेदुराम भुसाललाई लैजाने अध्यक्ष माधव नेपालको चाहना छ ।

संवैधानिक नियुक्तिहरूको सिफारिस गर्ने संवैधानिक परिषद्मा आफ्नो दलको उपस्थिति नरहेकाले राष्ट्रिय सभा अध्यक्षमा दावी स्वभाविक हुने त्यस पार्टीका नेता बताउँछन् ।

यता, माओवादी केन्द्रमा पनि अध्यक्ष नछोड्न आन्तरिक लबिङ शुरु भएको छ । पूर्वसहमतिअनुसार अर्को वर्ष कांग्रेसलाई सरकारको नेतृत्व सुम्पनुपर्ने हुँदा राष्ट्रिय सभाको अध्यक्ष नपाए संवैधानिक परिषद्मा आफ्नो दलको उपस्थिति शून्य हुने तर्क अघि सारेर बटमलाइन बनाउने माओवादीको तयारी छ । 

माओवादीले अध्यक्ष पाउँदा अहिलेका उपाध्यक्ष उर्मिला अर्याल मुख्य दावेदार रहेको बताइन्छ । त्यस्तै, केही वरिष्ठ नेताले समेत चुनाव लड्ने चाहना राखेकाले उनीहरूले टिकट पाएको अवस्थामा अध्यक्षको दावेदार हुने ठानिएको छ । यसअघि सरकार जोगाउने नाममा उपराष्ट्रपति छोडेका अध्यक्ष प्रचण्डलाई नेताले खुट्टा टेक्न सुझाएबाट पनि राष्ट्रियसभा अध्यक्षमा माओवादीले अडान राख्ने देखिन्छ ।

यद्यपि कुन दलले कति सीट पाउने भन्नेमै सहमति जुटिनसकेकाले अहिलेसम्म गठबन्धनभित्र अध्यक्षबारे छलफलले प्रवेश पाइसकेको छैन । सीट भागबण्डा टुंगो लागेपछि त्यसबारे छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । 

‘अहिले छलफल त भैसकेको छैन, तर कांग्रेसबाट सिटौलाजीलाई अध्यक्ष बनाउने गरी तयारी भएको भन्ने चर्चा बाहिर सुनिन्छ’, ती नेताले भने, तर, त्यो माओवादीलाई मान्य हुँदैन । किनभने अर्को वर्ष कांग्रेसलाई सरकारको नेतृत्व दिँदा संवैधानिक परिषद्मा हाम्रो एकजना पनि मान्छे हुँदैन । कांग्रेसको कानुनमन्त्री हुने, विपक्षी दलको नेता र सभामुख एमालेको हुने, उपसभामुख रास्वपाबाट हुने अनि राष्ट्रपति उतै, उपराष्ट्रपति पनि उतै कहाँ हुन्छ !’

राष्ट्रिय सभाका अध्यक्षसहित २० जनाको कार्यकाल आगामी फागुन ११ मा सकिँदै छ । त्यसको एक महिनाअगाडि नै निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार माघ ११ गते निर्वाचनको मिति तोकिएको छ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । रिक्त एक सीटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका दलहरू मिलेर जाँदा सबै सीट जित्ने प्रष्ट गणित छ । जित्ने चुनाव भएकाले पनि सबै दलमा उम्मेदवारका आकांक्षीहरूको भीड लागेको हो ।
 

टिप्पणीहरू