भनियो बालुवाटार, भेटवार्ता सिंहदरबार

सुन्नुहोस्

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणको क्रममा काठमाडौं आइपुगेर भेटघाटमा व्यस्त भएका छन् । उनी नयाँ दिल्लीबाट भारतीय वायुसेनाको विमान आईएफसी ३१ मा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साढे ९ बजे काठमाडौं आएका हुन् । 

परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका उनी विमानस्थलबाट सोझै नक्साल, नागपोखरीस्थित होटल मेरियट गएपछि ११ बजे शीतल निवास पुगे । राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्तापछि जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग सरकारी निवास बालुवाटारमा १२ बजे गर्ने भनिएको भेट दिउँसो पौने १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको हो । झण्डै एक घण्टाको भेटवार्तापछि अहिले उनी होटल याक एण्ड यति पुगेका छन् ।

नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक उक्त होटलमा राखिएको छ । सोही क्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षीबीच भेट हुने जनाइएको छ । झण्डै एक घण्टाको बैठकपछि २ बजेको समयमा विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

टिप्पणीहरू