भारतले सोझै २० करोड खर्च गर्न नपाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा २० करोडसम्मको परियोजनामा आफूखुसी सिधै खर्च गर्न नपाउने बताउनुभएको छ ।
संसद्को राज्यव्यवस्था समितिको बैठकमा यसबारे सांसदहरुको प्रश्न उठाएपछि प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले सो सम्बन्धी सम्झौता भएको तर, निश्चित प्रक्रिया पूरा गरेर मात्र खर्च गर्न पाउने प्रष्ट पार्नुभयो ।
'हामीले मन्त्रिपरिषदमा लामै छलफल गरेका हौँ । माननीयज्यूले भनेअनुसार यस्तो सहमति भएको सत्य हो । तर, भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने छैन । त्यस्को प्रक्रिया छ । नगरपालिकाभित्र कुन प्रक्रियाबाट गर्न सक्ने, गाउँपालिकाबाट भित्र या अन्य, त्यो प्रक्रियाबाट गएरमात्रै हुन्छ ।’
यसअघि सांसद रघुजी पन्तले उक्त सम्झौताले नेपालमा भारतको अनावश्यक र अवान्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्रीले आफ्नो ध्यानाकर्षण भएको र यसलाई कसरी बढी व्यावहारिक बनाउन सकिन्छ भन्नेबारे छलफल गर्ने बताउनुभयो।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा हिजो काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
टिप्पणीहरू