गठबन्धनमा भागबण्डा मिलेको कांग्रेसको दावीमा एसले भन्यो, 'नो'
राष्ट्रिय सभा चुनावमा मिलेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरुले सिट भागबण्डा टुंगो लगाएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुको बैठकले सिट भागबण्डा टुंग्याएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले दलहरुले मिलेर संयुक्त उम्मेदवारी दिने सहमति भएको बताए ।
उनका अनुसार निर्वाचन हुने १९ मध्ये काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिनेगरी सहमति भएको हो । क्लस्टरका विषयमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र थप् छलफल गरेर निर्णय गर्ने उनको भनाई छ ।
तर, गठबन्धनकै एक घटक एकीकृत समाजवादी भने कांग्रेस र माओवादीले गरेको भागबण्डाको उक्त प्रस्तावमा सहमत नभएको बताइएको छ । समाजवादीको ३ सिट पाउनुपर्ने अडान रहँदै आएको छ । आजको बैठकमा अध्यक्ष माधव कुमार नेपालले २ सिटमा चित्त बुझाउन नसक्ने प्रष्ट कुरा राखेको र कांग्रेस-माओवादीको प्रस्तावमा असहमति जनाएको सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
एकीकृत समाजवादीलाई १ सिट थप्दा आफूले ९ सिट मात्र लिनुपर्ने भएकाले काँग्रेसले अडान छोडेको छैन ।
टिप्पणीहरू