अरु डढे पनि सशस्त्रको गोदाममा एक बोरा गोलीका खोका सग्लै

अरु डढे पनि सशस्त्रको गोदाममा एक बोरा गोलीका खोका सग्लै
सुन्नुहोस्

सशस्त्र प्रहरी बल, नेपालको बलम्बुस्थित केन्द्रीय भण्डारमा लागेको भिषण आगलागीसम्बन्धी छानबिन प्रतिवेदन भोलि बुझाईंदै छ । एआइजी बँशी दाहालको संयोजकत्वमा गठित टोलीले चैत २६ गते लागेको आगोको कारण, क्षतिको विवरणबारे विस्तृत रुपमा प्रतिवेदनमा उल्लेख गरेको स्रोतको दाबी छ ।

छानबिन टोलीसँगको कुराकानीमा भण्डारसँग जिम्मेवार कर्मचारीले विद्युत सर्टका कारण आगो लागेको बताए पनि भित्री कुरो अर्कै पाइएको बताइन्छ । भण्डारभित्र खरानी हुनबाट एक बोरा गोलीको खोका भने जोगिएको छ ।

गोलीको खोका भण्डारमा राखियो किन ? कसले राख्यो ? भन्ने विषय पनि महत्वपूर्ण देखिन आएको छ । हुननतः पहिले तामाले मोरिएको खोका आउने भएकाले गालेर भाँडा बनाउन मिल्थ्यो । अहिले त्यस्तो नआउने भएकाले बिक्रीसमेत नहुने नहुँदा किन भण्डारमा खोका जम्मा पारियो ? 

विगतको तीतो यथार्थबारे बताउँदै स्रोत भन्छ, ‘केही महिनाअघि नेपाली सेनाको काठमाडौं–निजगढ फास्ट ट्र्याक परियोजनाबाट हराएको तोपजस्तै बलम्बुमा लागेको आगो हुन सक्छ । बाराको ग्यारेजमा पड्केको उक्त तोपका कारण २-३  जनाको ज्यान गएको र ग्यारेज ध्वस्त भएको थियो ।’

बलम्बुमा भएको आगलागीबाट भण्डारमा स्टोर गरिएको झण्डै पाँच करोड रुपैयाँ बराबरको सामान नष्ट भएको देखिन आएको छ । अर्कोतर्फ ठेकेदारले ल्याएको तर बुझाउन नभ्याएको झण्डै १८ करोड रुपैयाँको सामान पनि  खरानी भएको छ । 

ठेकेदारको सामानबारे प्रष्ट पार्दै स्रोत भन्छ, ‘सामान आए पनि रेकर्डमा जनाउन बाँकी थियो । बुट र सब बुट बुझाइसकेको थियो तर कम्प्युटरमा जनाउन बाँकी देखिन्छ ।’ अरु कतिपय सामानको गुणस्तर रिपोर्ट गुणतस्तर तथा नापतौल विभागबाट आउन बाँकी भएकाले ठेकेदारले बुझाउन भ्याएको थिएन ।

उक्त घटनाक्रममा तीन वर्षदेखि एउटै मान्छे भण्डार प्रमुख हुनुलाई पनि रहस्यमय ठानिएको छ । त्यसैगरी एउटै मान्छे लेखा प्रमुख भएर राईंदाईं गर्नुलाई पनि शंकाको दृष्टिकोणले हेरिएको छ ।

मुख्यालयको प्रबन्ध महाशाखामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाका बहिनी–ज्वाइँ एसएसपी दीपेन्द्र कुँवरको तीन वर्षसम्म लगातार मुकाम थियो । गत मंसिरमै ‘स्टोर इन’ गरिएका जाडोको सामान चैतको गर्मीसम्म किन वितरण नगरिएको भनेर प्रश्न गरिएको छ ।

जिम्मेवारीको हिसाबले भण्डार महाशाखाका हाकिम एसएसपी सुधीरजंग थापा हुन् । तर,दरबन्दी त्यहाँ भए पनि उनलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा लामो समयदेखि काज खटाइएको थियो । थापाको अनुपस्थितिमा भण्डारको काम लेखा समूहका एसपी राजेन्द्र श्रेष्ठले चलाउँदै आएका छन् । दरबन्दीका हाकिमलाई काजसरुवा, जाडोको सामान चैत मसान्तसम्म भण्डारणलगायत घटनाक्रमले पनि ‘एक्कासी लागेको’ आगोमा शंकाको आधार थपिएको हो ।

यसअघि कोषराज वन्त आइजी हुँदा हल्चोकको भण्डारमै आगो झोसिएको थियो । त्यतिबेला पनि अहिलेकै जस्तो विद्युत सर्टलाई दोष लगाइयो । त्यसबेला प्रबन्ध, लेखा तथा आर्थिक महाशाखा प्रमुख थिए अभिकुमार खत्री,जो अहिले ५ नम्बर बाहिनी लुम्बिनीका प्रमुख छन् ।

 

टिप्पणीहरू