एसईईको रिजल्टमा पुनर्योगको मौका
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा चित्त नबुझी पुनर्योग गराउन चाहनेसँग निवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित गर्दै असार ३१ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सकिने जानकारी गराएको हो ।
‘२०८० सालको नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी मिति २०८१ असार ३१ गतेसम्म निवेदन दिनहुन जानकारी गराइन्छ', सूचनामा भनिएको छ ।
अनलाइन फाराम भर्ने प्रक्रियाबारे जानकारी बोर्डको फेसबुक पेजमा र थप डिटेल बोर्डबाट प्राप्त गर्न सकिने जानकारी गराइएको छ ।
गत चैत १५ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमित र ग्रेडवृद्धितर्फ गरी चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले गत बिहिबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा दुई लाख २२ हजार ४७२ जना मात्र उत्तीर्ण भएका छन् ।
दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीको ‘ननग्रेड’ (एनजी) आएको छ । एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय छ ।
टिप्पणीहरू