जंगली च्याउ खाएर ज्यान गुमाउनेको संख्या बढ्दो
वर्षायाम शुरु भएसँगै जंगली च्याउ खाएर ज्यान गुमाउने र बिरामी हुने क्रम बढेको छ । पछिल्लो दुई सातामा मकवानपुरमा मात्रै जंगली च्याउ खाएर तीन जनाको ज्यान गएको छ । त्यस्तै, दर्जनौंको संख्यामा मानिसहरु बिरामी परेका छन् ।
विषालु च्याउ खाएर कैलाश गाउँपालिका–९, नामटारका चार वर्षीय दिपेश लामा, सोही ठाउँ बस्ने २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका–७, दगुवाङ गाउँका ४५ वर्षीय बलबहादुर प्रजाको ज्यान गएको छ ।
जंगली च्याउ खाएर बिरामी र मृत्यु हुने क्रम अझै चलिरहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६, का ८५ वर्षीय द्रोणपति गुरुङको पनि जंगली च्याउ खाएर असार ७ गते निधन भएको थियो ।
असार १ गते जंगलबाट च्याउ टिपेर ल्याई तरकारी बनाएर खाएका उनीसहित परिवारका पाँच जना बिरामी परे । उनको च्याउ खाएको सात दिनपछि उपचारको क्रममा मृत्यु भएको हो । अन्य बिरामीको उपचार जारी छ ।
गत वर्ष रोल्पामा जंगली च्याउ खाएका एकै परिवारका तीन जनाको ज्यान गएको थियो । लुंग्री गाउँपालिका–५, कालापोखराकी ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमको मृत्यु भएको हो ।
जंगलबाट च्याउ लिएर फर्किएकी भीमाले बेलुकी त्यसैको तरकारी पकाएर दुई छोरासँगै खाना खाएर सुतिन् । तर, भोलिपल्ट तीनै जना बिरामी परे । त्यसपछि उपचारको क्रममा दुई दिनको अन्तरालमा तीनै जनाको ज्यान गयो ।
धनकुटामा पनि यस्तै घटना भएको थियो । गत वर्ष जेठ १९ गते धनकुटा नगरपालिका–७, की २८ वर्षीया मुना राई र उनका छोरा सचिवको पनि विषालु च्याउ खाएरै मृत्यु भएको थियो ।
बर्खायाममा चारैतिर उम्रिने विषालु च्याउ खाएर नेपालका दुर्गम तथा पहाडी क्षेत्रमा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ । प्रत्येक वर्ष वर्षायाममा अधिकांश ग्रामीण भेगका सर्वसाधारणले बिहान बेलुकीको छाक टार्ने क्रममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका छन् ।
आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायत वनका कन्दमूल खानुपर्ने बाध्यता अहिले पनि उस्तै छ । अर्कोतर्फ, सचेतना नहुँदा यस्ता विषादीयुक्त च्याउ खाएर कतिपयको परिवारै सखाप हुने गरेको छ ।
कोशीमा धेरैको मृत्यु
प्रहरी हेर्डक्वार्टरको तथ्याङ्कअनुसार कोशी प्रदेशमा जंगली च्याउ खाएर ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा छ । २०७५ देखि अघिल्लो वर्षको असार मसान्तसम्म विषालु च्याउ खाएर १४ जनाको ज्यान गएको थियो । ४२ जना बिरामी परे ।
कोशीपछि लुम्बिनीमा त्यस्तो च्याउ खाएर मृत्यु हुने बढी छ । जसअनुसार लुम्बिनीमा २०७७ देखि २०८० असार मसान्तसम्म जंगली च्याउ खाएका १० जनाले ज्यान गुमाएका हुन् । दुई सय १० जना बिरामी परेको प्रहरीको भनाइ छ ।
यता, गण्डकी र बागमतीमा भने जंगली च्याउ खाएर हालसम्म एक÷एक जनाको मृत्यु भएको छ भने सयौं बिरामी परेका छन् ।
सुदूरपश्चिममा विषालु च्याउ खाएर २०७७ सालमा दुई जनाको ज्यान जाँदा मधेशमा हालसम्म जंगली च्याउका कारण कसैको पनि मृत्यु नभएको प्रहरीको विवरणमा उल्लेख छ ।
भोकमरी र जनचेतना अभाव प्रमुख कारण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी विषालु च्याउका कारण वार्षिक दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाउने गरेको बताउँछन् । उनले भने, ‘यस्तो च्याउ खाएर नेपालमा वार्षिक दुई दर्जनभन्दा बढीको मृत्यु हुने गरेको छ । सयौंको संख्यामा मानिस बिरामी पर्ने गर्छन् ।’
जनचेतनाको अभाव र भोकमारीका कारण पनि मानिसहरुले जंगली च्याउ खाने गरेको उनको ठहर छ । प्रवक्ता बुढाथोकीले थपे, ‘एकातिर जनचेतनाको अभाव अनि अर्कोतिर भोकमारीले गर्दा पनि बिहान बेलुकाको छाक टार्न मानिसहरुले यस्तो च्याउ खाने गरेको पाइन्छ ।’
उनका अनुसार विषालु च्याउको असर बालक तथा वृद्धहरुमा छिटो तथा धेरै र वयस्कमा अलि कम देखिन्छ । यो च्याउ खाएको छ घण्टादेखि २४ घण्टापछिसम्म पनि असरहरु देखा पर्ने उनको भनाइ छ ।
विषालु च्याउ खाइसकेपछि श्वासप्रश्वासमा समस्या हुने, पेटको तल्लो भाग दुख्ने, छटपटी हुने, पखाला लाग्ने, वान्ता÷बेहोस हुनेजस्ता लक्षण देखा पर्ने प्रवक्ता बुढाथोकीले बताए ।
जंगलमा पाइने च्याउ चिनेर मात्र खानुपर्ने उल्लेख गर्दै उनले केही गरी विषालु च्याउ खाइहाले जतिसक्दो छिट्टो पहिचान गरी उपचारका लागि अस्पताल जानुपर्ने सुल्झाए ।
उनले भने, ‘शुरुमा त आफुले नचिनेको च्याउ खानु नै हुन्न । केही गरी खाइहालेर स्वास्थ्यमा समस्या देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । जतिसक्दो छिट्टो अस्पताल गयो, त्यति नै बिरामीको बच्ने आशा रहन्छ ।’
विषालु च्याउ खाएर हुने मृत्युदरमा कमी ल्याउन स्थानीय तहहरुले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समेत कृषकहरुलाई च्याउबारे आवश्यक तालिम प्रदान गर्नुपर्ने बताए ।
‘कुन विषादी भएको र कुन नभएको भनेर छुट्याउन नसक्दा पनि विषादीयुक्त च्याउ खाएर धेरैले ज्यान गुमाउने गरेका छन् । त्यसैले, स्थानीय तहहरुले जनचेतनाका आवश्यक कार्यक्रमहरु ल्याउनुपर्छ । जनचेतना अभिवृद्धि गर्न सकिएमा जंगली वा विषालु च्याउ खाएर हुने मृत्युदर निकै कम हुनसक्छ,’ प्रवक्ता बुढाथोकीले भने ।
तर, स्वास्थ्य मन्त्रालयले भने बिरामीको उपचारबाहेक अन्य कुनै काम गर्न नसक्ने उनको तर्क छ । ‘हामीले त विषालु च्याउ खाएका व्यक्तिमा यस्तो लक्षण देखा पर्छ र उनीहरुको यसरी उपचार गर्नुपर्छ भनेर स्वास्थ्यकर्मीलाई निर्देशन दिने र जनशक्ति तयारी अवस्थामा राख्ने हो । सचेतनाका कार्यक्रम स्थानीय तहहरुले नै ल्याउनुपर्छ,’ उनले थपे ।
कसरी चिन्ने विषालु च्याउ ?
च्याउ मानव शरीरका लागि अति उत्तम र पौष्टिक आहार हो । च्याउमा प्रोटिन, भिटामिन, क्याल्सियम आदि तत्व पाइन्छ । तर, त्यही च्याउ जथाभावी खाँदा विषको रुपमा परिणत हुने चिकित्सकहरु बताउँछन् ।
नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये करिब एक सय १० प्रकारका मात्रै खानयोग्य छन् । त्यस्तै, केही प्रजातिका च्याउलाई औषधिको रुपमा प्रयोग गरिन्छ भने अधिकांश विषाक्त भएको अनुमान छ ।
सामान्य देखेकै भरमा च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । विषालु च्याउ हेर्दा सफा, रंगीन र आकर्षक हुन्छ । यो हलक्क बढेको र रहरलाग्दो देखिन्छ । यी च्याउमा हत्तपत्त किरा लाग्दैन ।
जंगलमा उम्रिएको कुनै च्याउबाट नमीठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्याधिक छ वा च्याउ रङ्गीचङ्गी छ भनेपनि त्यो विषालु हुनसक्छ । त्यस्ता च्याउ भाँच्दा दुध वा चोप निस्कन्छ र हातले छुँदा रंगसमेत फेरिने विज्ञहरु बताउँछन् । विषालु च्याउ पकाउँदा पनि त्यसको विष कम हुँदैन ।
टिप्पणीहरू