नागढुङ्गा–नौबिसे सडक दुई रात बन्द

नागढुङ्गा–नौबिसे सडक दुई रात बन्द
सुन्नुहोस्

धादिङबाट काठमाडौं छिर्ने मुख्य सडक नागढुङ्गा–नौबिसे सडकखण्ड (त्रिभुवन राजपथ) दुई रात बन्द हुने भएको छ । आज र भोलि राति सडकखण्ड बन्द गर्न लागिएको हो । 

नौबिसे खोलामा रहेको पुलको ‘ग्राइडर लन्चिङ’ गर्न लागिएकाले सवारी आवागमन पूर्णरुपमा रोकिने जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । 

एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधन भने चल्न दिइने उनले जानकारी दिए । 

‘नागढुङ्गा–नौबिसे सडकखण्ड (त्रिभुवन राजपथ) अन्तर्गत नौबिसे खोला पुलको ग्राइडर लन्चिङ गर्ने कार्य हुने भएकोले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उल्लेखित स्थानमा ग्राइडर लन्चिङ गर्ने प्रयोजनार्थ यही मिति २०८१–०३–१९ र २० गते बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक) अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोकिने व्यहोरा जानकारी गराईन्छ’, आज जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, कार्यालयले दुई पाङ्ग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरुलाई वैकल्पिक मार्गका रुपमा धार्के सितापाईला सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

टिप्पणीहरू