गिनिज बुकमा नाम लेखाउन तल्लिन मूर्तिकार
व्यवसायिक रुपमा मूर्ति बनाएर जीविका चलाउँदै आएका कलाकार मुलुकमा धेरै छन् । तर, मोरङका एक युवा कलाकारको सपना भने अन्य मूर्तिकारको भन्दा अलग्गै छ । मूर्ति बनाएर जीविका चलाउन मात्र नभई उनी विश्व कीर्तिमान ‘गिनिज वर्ल्ड बुक’ मा आफ्नो नाम लेखाउन चाहन्छन् । आँखामा कालोपट्टी बाँधेर मूर्ति बनाउने कला भएका उनले गिनिज बुकमा आफ्नो नाम लेखाउने सपना बुनेका हुन् ।
ग्रामीण भेगको जहादा गाउँपालिका २, डंग्राहा टोलका ३४ वर्षीय तुलसी मण्डलले ६ वर्षको उमेरदेखि मूर्ति बनाउँदै आएका छन् । उनले मूर्तिबाट धन आर्जन गर्नुको साथै स्थानीय स्तरमा ख्याती पनि कमाएका छन् । तर, उनको एउटा धोको भने पूरा हुनसकेको छैन ।
मूर्तिकलामा जीवन समर्पित गरेका उनले आफ्नो थर नै ‘कलाकार’ बनाएका छन् । गिनिज बुकमा नाम लेखाउनकै लागि उनले आँखामा पट्टी बाँधेर ४० मीनेटमा १८ ईञ्चको भगवान गौतम बुद्धको मूर्ति बनाएका हुन् । तैपनि उनको नाम गिनिज बुकमा सूचीकृत हुन सकेको छैन ।
गिनिज बुकमा नाम लेखाउन सहयोग गरिदिन उनले विभिन्न संघसंस्थासँग आग्रह गरिसकेका छन् । ‘मैले चाहेर पनि आफ्नो नाम गिनिज बुकमा दर्ता गराउन पाइनँ । यसमा सरकार र संघसंस्थाहरुले सहयोग गरिदिने अपेक्षा राखेको छु’, उनले भने ।
मूर्तिकला विधामा गिनिज बुकमा पहिलो नाम दर्ता गराउन सके मुलुकले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउने तुलसीको विश्वास छ । बिएडसम्म अध्ययन गरेका उनी पेशाले शिक्षक हुन् । स्थानीय सन्थाल आधारभूत माविमा कार्यरत तुलसीले फुर्सदको समयमा मूर्ति बनाउने गरेको बताए ।
भारतको बिहार राज्यको धार्मिकस्थल सुन्दरी मोठमा एक सय फिटको भगवान् शिवपार्वतीको कलात्मक मूर्ति निर्माण गरिरहेका उनले ६ वर्षमा काम सकिने जानकारी दिए । त्यसका लागि बिहारका उपमुख्यमन्त्रीले तुलसीलाई उत्कृष्ट कलाकारको रुपमा सम्मान गरेका छन् ।
भारतमा चर्चित उनी नेपालमा भने गुमनाम छन् । आफूसँग भएको सीपकै कारणले उनले विभिन्न मूर्ति बनाउने अर्डर पाउने गरेका छन् । उनी भन्छन्, ‘मैले आफू व्यवसायिक मूर्तिकार हुँ भनेर आजसम्म विज्ञापन गरेको छैन् । आफ्नो प्रसिद्धीले गर्दा नै मूर्ति बनाउन भ्याईनभ्याई हुन्छ ।’
अहिलेसम्म राष्ट्रियस्तरमा कुनै सम्मान नपाएका उनले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । ललितकलालाई प्रोत्साहन गर्ने सरकारले मूर्तिकलालाई उपेक्षा गरेको उनको गुनासो छ । मूर्तिकला कलाकारहरुले उचित सम्मान पाउन नसकेकोमा उनी दुःखेसो पोख्छन् ।
पछिल्लो समय मूर्तिकलाको माग बढ्दो भएकाले आर्थिक उपार्जनको राम्रो माध्यम बन्ने तुलसीको भनाइ छ । त्यस्तै, मूर्तिकलाबाटै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान पनि बनाउन सकिने उनी बताउँछन् । स्थानीय सरकारले मूर्तिकलालाई पाठ्यक्रममा राख्नुपर्नेमा उनको जोड छ ।
टिप्पणीहरू