महानगरवासीलाई राष्ट्रिय परिचयपत्र वडाबाट
पोखरा महानगरवासीले १२ नम्बर वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र पाउने भएका छन् ।
महानगरले आफ्नो क्षेत्रभित्रका बासिन्दाको सहजताका लागि १२ नम्बर वडा कार्यालयलाई परिचयपत्रसम्बन्धी सेवा संचालनको केन्द्र तोकेको हो । राष्ट्रिय परिचयपत्र लिन योग्य महानगरका स्थायी बासिन्दालाई उक्त वडा कार्यालयमा आवेदन दिन महानगरले सूचना गरेको छ ।
‘पोखरा महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने राष्ट्रिय परिचयपत्र प्राप्त गर्न योग्य नागरिकहरुका लागि वडा नम्बर १२ को कार्यालयमा आवेदन दिने व्यवस्था गरिएको जानकारी गराइन्छ', महानगरको सूचनामा भनिएको छ, 'ज्येष्ठ नागरिक, अपाङ्गता र दीर्घरोगीहरुलाई विशेष प्राथमिकता दिइनेछ ।'
सरकारले साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिराहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर हुनुपर्ने जनाएको छ ।
टिप्पणीहरू