मेयर साम्पाङद्वारा महिला पत्रकारमाथि अपमानजनक व्यवहार, महासंघको आपत्ति

मेयर साम्पाङद्वारा महिला पत्रकारमाथि अपमानजनक व्यवहार, महासंघको आपत्ति

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको  अपमानजनक व्यवहारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पूर्वेली न्यूज डटकममा कार्यरत सञ्चारकर्मी संजिता धमलामाथि मेयर साम्पाङले आफ्नै कार्यकक्षमा बोलाएर अपमानित व्यवहार गरेको आरोपपछि महासंघले आपत्ति जनाएको हो ।

धमलालाई प्रहरी बोलाएर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघको भनाई छ । ‘गत शुक्रबार आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख साम्पाङले सार्वजनिक सुनुवाई कार्यक्रममा आफु अनुकूल प्रश्न नसोधेको तथा प्रश्न सोधेकै आधारमा सञ्चारकर्मी धमलालाई अपमानित ढंगले आफ्नो कार्यकक्षबाट बाहिर निकाल्दै नगर प्रहरी र नेपाल प्रहरी लगाएर लछारपछार गर्दै पक्राउ गराएका थिए,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो क्रममा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको बताइन्छ । महासंघले सार्वजनिक पदधारी उपमहानगर प्रमुखजस्तो जिम्मेवार व्यक्ति र प्रहरीबाट सञ्चारकर्मीलाई गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती रहेको बताएको छ । 

‘प्रेसविरोध यस्ता हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । घटनाको सत्यतथ्य छानबिन गरी प्रेसविरोधी कार्यमा संलग्न जोकोही भएपनि कानूनबमोजिम कारबाहीको माग गर्दै महासंघले पत्रकारलाई निर्धक्क र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू