न्यायिक मनको फैसला उल्ट्याउँदै जन्मकैद, दोषीहरु भारततिर भागाभाग
‘न्यायिक मनले गरेको फैसला’ उल्टाउँदै उच्च अदालतको बुटवल इजलासले नेपाली काँग्रेसका नेता प्रितम पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ । २०६४ चैत ९ गते माओवादी कार्यकर्ता शिवपुजन कुर्मीलाई दिउँसै गोली हानेका प्रितम पाण्डे र धर्मेन्द्र सिंहलाई तुलसीपुर उच्च अदालतअन्तर्गत बुटवल इजलासले जन्मकैद तोकेको छ ।
सोही मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले २०७८ पुस २६ को घटना वारदात, मिसिल तथा प्रमाणविरुद्ध प्रितम भनिने सुखीनाथ पाण्डे तथा धर्मेन्द्र सिंह क्षेत्रीलाई सफाइ दिएका थिए । न्यायाधीश सिंहले मृतकका छोरा एवम् जाहेरवाला ओमप्रकाश चौधरी घटना वारदातका बेला १५ वर्षको रहेको र निजले दिएको बयान मान्य नहुने उल्लेख गर्दै आरोपीले गरेको बकपत्रलाई प्रमुख आधार बनाएर गरेको फैसला पुनरावेदनले उल्टाएको हो ।
उच्च अदालत बुटवल इजलासका न्यायाधीश जगतबहादुर थापाको आदेशमा गत जेठ ८ गते दुबैलाई जन्मकैद सजाय फैसला सुनाइएको छ । घटनापछि फरार पाण्डे तथा सिंह क्षेत्री धरौटीमा छुटेका थिए । तत्कालीन जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले गरेका अधिकांश आदेश उच्च अदालतबाट उल्टिएको जिल्ला अधिवक्ताहरु बताउँछन् ।
फैसलालगत्तै फरार
उच्च अदालतको फैसलालगत्तै प्रितम र धर्मेन्द्र फरार भएका छन् । २०६४ चैतको घटनालगत्तै फरार रहेका उनीहरु भारतमा बस्दै आएका थिए । पाण्डेले १२ वर्षपछि २०७७ पुस १७ गते अदालतसमक्ष आत्मसमर्पण गर्दा न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले भोलिपल्ट १८ गते धरौटीमा छुटाएको थियो ।
धर्मेन्द्रलाई २०७७ माघमा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएकोमा जिल्ला अदालतको फैसलापछि उनी कारागारबाट रिहा भएका थिए । अहिले उच्च अदालतको फैसलापछि पुनः फरार भएका छन् । स्रोतका अनुसार प्रितम भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जको नौतनवा र धर्मेन्द्र सोही प्रदेशको सिद्धार्थनगर जिल्लाको भीमापारमा बस्दै आएका छन् । फरार दुबै जनासँग भारतीय नागरिकतासमेत रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार प्रितम भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जको नौतनवा र धर्मेन्द्र सोही प्रदेशको सिद्धार्थनगर जिल्लाको भीमापारमा बस्दै आएका छन् । फरार दुबै जनासँग भारतीय नागरिकतासमेत रहेको स्रोतको दाबी छ ।
‘बेलाबखत नेपाल आइरहन्छन् तर प्रहरीले पक्राउमा चासो देखाउँदैन’ मृतकका छोरा ओमप्रकाश कुर्मीले भने ।
विभिन्न हत्या आरोप तथा डाँका,चोरी,लुटपाट र ज्यान मार्ने उद्योगमा कैद सजाय तोकिएका पाण्डे २०४६ साल यता नेपाली काँग्रेस कपिलवस्तुको पूर्वी क्षेत्रका प्रभावशाली नेता हुन् । २०६१ मा माओवादी विरुद्धको प्रतिकार समूहका नाइके प्रितम राजनीतिक आडमा अपराधका नाइकेको रुपमा चिनिए ।
२०७४ मा श्रीमती सुधादेवी पाण्डे शुद्धोधन गाउँपालिका उपाध्यक्ष बनिन् । २०४६ सालअघि उनले डाँकाहरुको नेतृत्व गरेको स्थानीय वृद्धहरु बताउँछन् । २०४६ को जनआन्दोलनपछि दीपकुमार उपाध्यायकै पहलमा उनी काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेस प्रवेशपछि प्रितम झन् शक्तिशाली भएर अपराध क्षेत्रमा लागेको त्यस यताका विभिन्न घटनाक्रमले देखाएको छ ।
कपिलवस्तु जिल्ला अदालतले २०४८ चैत ४ गते ज्यान मार्ने उद्योग अन्तर्गत ५ वर्ष कैद सजाय,कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद तथा ५ हजार जरिवाना तोकेको थियो । रुपन्देही जिल्ला अदालतले महादेव थारुको घरमा भएको डाँका, लुटपाट मुद्दामा अदालतले २०६२ जेठ ५ गते ४ वर्ष १ महिनाको कैद सजाय फैसला गरेको थियो ।
फरार प्रितम पाण्डेविरुद्ध चार जनाको हत्या अभियोगसमेत छ । उक्त घटनामा समेत उनलाई फरार देखाइएको छ । २०६३ असार १३ गते हथिहवा गाविसमा स्थानीय केशव भरको हत्याको नेतृत्व पाण्डेले गरेको जाहेर मुद्दामा किटानी छ । उनका बाबु दारु भरले छोराको हत्या प्रितम,धर्मेन्द्र सिंह र द्वारिका यादवले गरेको उल्लेख गरेका छन् । यस्तै २०६१ वैशाख १८ गते चौधरी कुर्मी र चेतन कुर्मीको विठुवामा हत्या गरिएको अभियोगमा समेत प्रितम पाण्डेविरुद्ध किटानी जाहेरी छ । उक्त मुद्दामा समेत उनी फरार नै छन् ।
टिप्पणीहरू