पुलिस-वकिल काण्डमा वक्तव्य निकाल्नबाट किन रोकिएको थियो बार ?
‘अर्काको आङको जुम्रा देख्ने,आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाल बार एशोसिएशनको बैठकमा उठेको प्रसंग हो यो । काठमाडौं जिल्ला अदालतमा भएको घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा बारका प्रतिनिधिले आफ्नो गल्ती लुकाउन अरुमाथि दोष थुपार्न नहुने बताउँदै त्यसो भनेका हुन् ।
गत असार २३ गते काठमाण्डौ जिल्ला अदालतको गेट नम्बर ३ (अदालतका कर्मचारी र कानुन व्यवसायीहरुको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र) मा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भनाभन भयो । उक्त घटनामाथि हाल तर्क–वितर्क भइरहेको छ ।
रोचक कुरा त के भने कुटिएकी महिला अधिवक्ताभन्दा पनि प्रहरीप्रति बढीले सहानूभूति देखाएका छन् । यता, एशोसिएशनको बैठकमा पनि बारका अधिकांश प्रतिनिधि ब्युटीफुल वकिलभन्दा ड्युटीफुल प्रहरीको पक्षमा उभिएका थिए ।
के हो घटना ?
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ की अधिवक्ता नानी (लक्ष्मी) थापा सो दिन ६ नम्बर फाँटमा काम भएकाले अदालत पुगेकी थिइन् । दिउँसो गेटबाट निस्किँदै गर्दा उनको अदालतको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालसँग भनाभन भयो । छिनालले आफूलाई तुच्छ शब्दमा गाली गर्दै मुक्का प्रहार गरेको थापाको आरोप छ ।
थापाको गालाबाट रगत बगिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । यता, सुरक्षाकर्मीले भने थापाविरुद्ध प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दिएका छन् । सो गेटबाट उनले ‘क्लायन्ट’ लाई समेत छिराउन खोजेको र त्यसो नगर्नुभन्दा आफूलाई चड्कन हानेको छिनालले बताएका छन् ।
थापाले पुनः हान्न खोजेपछि प्रतिरक्षा गर्दा आफ्नो नङले कोतरिएको उनको भनाइ छ । उजुरीपत्रमा भनिएको छ,‘नानी थापा भन्ने लक्ष्मी थापालाई यो गेटबाट पब्लिकलाई प्रवेश गर्न निषेध छ,तपाईं अर्को गेटबाट आफ्नो क्लाइन्टलाई लिएर जान सक्नुहुन्छ, तपाईं आफू मात्र जाने भए जानु,नभए क्लाइन्टसमेत लिएर जाने भए अर्को गेटबाट जानुभन्दा निजले मेरो ड्युटीमा अवरोध गरी मलाई सार्वजनिक स्थानमा गालीगलौज गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेको हुँदा निज प्रतिवादी नानी थापा भन्ने लक्ष्मी थापालाई मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ (१) बमोजिम कारबाही गरिपाऊँ ।’
उनले सिसिटिभी फुटेज चेकजाँच गर्न र प्रत्यक्षदर्शी कुसुम खड्कासमेतसँग घटनाबारे बुझ्न माग गरे । उक्त घटनापछि बारको बैठक बसेको थियो । सो क्रममा उपाध्यक्ष आशा राईले ‘सेन्टिमेन्टल’ भएर निर्णय लिन नहुने धारणा राखिन् । उनको भनाइलाई उद्धत गर्दै स्रोतले भन्यो,‘यो विषयमा सेन्टिमेन्टल भएर काम छैन । सिसिटिभी फुटेज हेरेर कसले कसलाई हात हाल्यो,दुर्व्यवहार गर्यो पत्ता लगाउनुपर्छ । महिला भन्दैमा सहानुभूति राख्ने, महिलाले गल्ती गर्दैनन्, अपराध गर्दैनन् भन्ने हुँदैन । त्यहाँको ड्युटी अफिसरको पनि कुरा बुझ्नुपर्दछ ।’
घटनाका प्रत्यक्षदर्शी १ नम्बर न्यायाधीशले ‘सिसिटिभी फुटेज नहेरिकन बारले एकोहोरो जे गरे पनि हुन्छ भन्ने नगरिदिनुहोला । गल्ती उहाँको पनि देखिएको छ’ भनेर बारका प्रतिनिधिलाई सचेत गराएका थिए । त्यसपछि बारले निकाल्न लागेको वक्तव्य रोकिएको थियो ।
हाल घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । फुटेजमा थापा आफ्नो ‘क्लाइन्ट’ सँग आएको देखिन्छ । गेटमा रहेका सुरक्षाकर्मीले उनलाई रोक्छन् । थापाले हात समातेर जबरजस्ती आफ्नो ‘क्लाइन्ट’ लाई सोही गेटबाट बाहिर ल्याउन खोजेको भिडियोमा प्रष्टै छ ।
तर,सुरक्षाकर्मीले दिँदैनन् । उनको ‘क्लाइन्ट’ अर्को गेटबाट जान्छिन् । थापा भने सुरक्षाकर्मीसँग झगडा गर्न थाल्छिन् । त्यसपछि त्यहाँ भीड जम्मा हुन्छ । थापाले पहिले सुरक्षाकर्मीलाई चड्काउँछिन् । उनको थप्पडपछि सुरक्षाकर्मीले मुक्का प्रहार गर्छन् ।
अधिवक्ता र कर्मचारीबीच ‘टकराव’
घटनाको विषयलाई लिएर अधिवक्ता र कर्मचारी संगठनले आ–आफ्नो विज्ञप्ति जारी गरेका छन् । जिल्ला अदालतका कर्मचारीहरुले अधिवक्ता थापामाथि कारबाही हुनुपर्ने माग राखेका छन् । थापाले अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने कार्य गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले भनेका छन्,‘अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनशायले गरिएको अपराधिक कार्यप्रति घोर भर्त्सना गर्दै यस्तो गल्ती अपराधिक कार्यमा संलग्न व्यक्तिउपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन अनुरोध गर्दछौं ।’
"सिसिटिभी फुटेज हेरेर कसले कसलाई हात हाल्यो,दुर्व्यवहार गर्यो पत्ता लगाउनुपर्छ । महिला भन्दैमा सहानुभूति राख्ने, महिलाले गल्ती गर्दैनन्, अपराध गर्दैनन् भन्ने हुँदैन । त्यहाँको ड्युटी अफिसरको पनि कुरा बुझ्नुपर्दछ ।’
यता,काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले कानुन व्यवसायीउपर हुने सबै किसिमको अन्यायविरुद्ध कानुनी प्रतिरक्षामा उत्रिन आह्वान गरेको छ । सुरक्षाकर्मीबाट भएको भौतिक आक्रमणले कानुन व्यवसायीलाई त्रसित बनाएको एशोसिएशनको भनाइ छ ।
नेपाल बार एशोसिएशनले हिजो विज्ञप्ति निकाल्दै अदालतमा कार्यरत सबै कर्मचारी र सुरक्षाकर्मीलाई आफ्नो पदीय मर्यादामा रहन सचेत गराएको छ । कानुन व्यवसायीमाथिको भौतिक आक्रमण र अमर्यादित व्यवहारको घोर भर्त्सना गर्दै बारले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
अदालतका एक कर्मचारी भन्छन्,‘सिसिटिभी फुटेजमा अधिवक्ताले पहिले सुरक्षाकर्मीलाई हिर्काएको देखिन्छ । घाउ लागेको नाताले मान्छेलाई निर्दोष र अर्कोलाई दोषी करार गर्नु गलत हो । त्यसो त घाउ लागेका धेरै हुन्छन् । के–कारणले घटना भयो ? कसले पहिले हात हाल्यो, के कारणले हात हाल्यो । कारण पनि त हेर्नुपर्यो । कर्मचारीले माथिको आदेश पालना गर्ने हो । नियम नटेर्ने,हात हाल्ने अनि आफैं बिचरा बन्ने ?’
बारको विज्ञप्तिपछि तातियो सामाजिक सञ्जाल
बारले अधिवक्ताको वकालत गर्दै विज्ञप्ति निकालेपछि सामाजिक सञ्जाल तातिएको छ । आफ्नो संगठनमा आबद्ध भएकाले ‘गल्तीमा पर्दा हाल्न’ खोजेको भन्दै बारको धेरैले आलोचना गरिरहेका छन् ।
एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘कानुन सबैलाई समान रुपमा लागु हुनुपर्छ र कानुनबमोजिम दण्ड हुने कुनै कार्य गरेको प्रमाणित भएमा सम्बन्धित व्यक्ति दण्डित हुनुपर्छ । यति सामान्य कुरा कानुनका ज्ञाताहरुको संगठनलाई अरुले सम्झाउन नपर्ने हो । कि कानुन व्यवसायीले गल्ती गर्दा पनि कानुनी कारबाही गर्न नपाइने हो ? विशेषाधिकारको व्यवस्था पो गर्नुपर्ने हो कि ?’
त्यस्तै,अर्कोले भनेका छन्,‘बिचरा फेरि अब एउटा पुलिसले बिना कारण कारबाही खाने भयो । हुँदैन भन्दाभन्दै पनि जान खोज्ने, मुखमुखै लाग्ने अनि थप्पड हान्ने । यो त जो चोर उसकै ठूलो स्वरजस्तो भएन र !’
ललितपुर घटनाको बदला लिन खोजियोः थापा
अधिवक्ता थापा आफ्नो बारेमा भ्रामक हल्ला फैलाइएको बताउँछिन् । आफू अस्पताल गएको बेला ‘भए नभएको’ कुरा उल्लेख गरेर हतारहतार प्रहरीमा जाहेरी दिएको उनको आरोप छ ।
‘मेरो गालाको घाउ ठीक होला तर मानसिक रुपमा परेको असर ठीक हुन सक्दैन । उहाँले मलाई लैङ्गिकताको गाली गर्नुभएको छ । मेरोबारेमा भ्रामक प्रचार गरिएको छ । मैले थप्पड हानेँ भनिएको छ । जबकि मेरो हात उहाँको चिउँडोसम्म पनि पुगेको छैन । उहाँले त मलाई मुक्का हान्नुभएको छ’, उनले भनिन् ।
त्यस्तै,उनले कर्मचारीहरुले सो विषयलाई बढी नै उछालेको बताइन् । गत वर्ष ललितपुर जिल्ला अदालतमा भएको अधिवक्ता र कर्मचारीको विवादमा दबिनुपरेकाले उनीहरुले त्यसकै बदला लिन खोजेको थापाको जिकिर छ । केही समयअगाडि थापाको पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग न्यायाधीश नियुक्तिको अडियो सार्वजनिक भएको थियो ।
टिप्पणीहरू