भुक्तानी समस्याको स्थायी समाधान खोजियोस् : निर्माण व्यवसायी महासंघ
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुको भुक्तानीसम्बन्धी समस्या स्थायी रुपमा समाधान गरिदिन सरकारसँग माग गरेको छ । लामो समयदेखि भुक्तानी रोकिँदा हजारौं निर्माण व्यवसायी टाँट पल्टिने अवस्थामा पुगेको जानकारी गर्दै महासंघले समस्या समाधानका लागि व्यवसायीको संलग्नतामा ठोस् रणनीति तय गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
आज विज्ञप्ति जारी गर्दै महासंघले निर्माण उद्योग जटिल अवस्थाबाट गुज्रिरहेको बताएको छ । खानेपानी, सिचाइँ शहरी विकास मन्त्रालयका आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको सडक विभागअन्तर्गत पुलसहित स्थानीय सडक निर्माण व्यवसायीहरु सबैभन्दा धेरै प्रताडित भएको महासंघको भनाइ छ ।
‘विशेषगरी आर्थिक वर्षको अन्त्यमा आएर अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ दिएका कारण हजारौं व्यवसायीहरु टाँट पल्टिने अवस्थामा पुगेका छन् । खानेपानी, सिचाइँ, शहरी विकास मन्त्रालयका आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको सडक विभागअन्तर्गत पुलसहित स्थानीय सडक आयोजना निर्माण गरेका व्यवसायीहरु यो समस्याबाट अझ प्रताडित भएका छन्’,विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्षको अन्त्यसम्म पनि निर्माण व्यवसायीको भुक्तानी हुन नसक्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको महासंघको गुनासो छ । महासंघका अनुसार ६० अर्ब भुक्तानी हुनुपर्नेमा १५ अर्ब मात्र रकमान्तर भएको छ । त्यसमध्ये पनि एक अर्ब १४ करोड इन्ट्री हुन नसकेको जनाइएको छ ।
भनिएको छ, ‘मन्त्रीहरुको पटकपटकको प्रतिबद्धताविपरीत यसरी असार मसान्तमा समेत निर्माण व्यवसायीहरुको अर्बौं रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको छ । बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायीहरु मात्र प्रताडित भएका छैनन्, उनीहरुमा आश्रित उद्योग तथा परिवारमा समेत ठूलो मनोवैज्ञानिक दबाब परेको छ ।’
समयमा भुक्तानी हुन नसक्दा सरकारमाथि व्यवसायीको विश्वास डगबगाएको महासंघको जिकिर छ । त्यस्तै, महासंघले अब बन्ने सरकारले भुक्तानीलगायत निर्माण उद्योगमा देखिएको समस्या समाधान गर्ने आशा व्यक्त गरेको छ । नयाँ सरकारले निर्माण व्यवसायीको समस्या समाधानमा चासो नदेखाएमा सशक्त आन्दोलनमा जाने महासंघको चेतावनी छ ।
टिप्पणीहरू