नारायणगढ–मुग्लिन सडकको पहिरोमा दुइटा यात्रु बस बग्यो, पोखरामा एकै घरका सातजनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकको पहिरोमा दुइटा यात्रु बस बग्यो, पोखरामा एकै घरका सातजनाको मृत्यु
सुन्नुहोस्

नारायणगढ–मुग्लिन सडक खण्डमा आएको लेदोसहितको पहिरोले दुइटा यात्रु बस बगाएको छ । सिमलतालमा गएको पहिरोले आज बिहान साढे ३ बजेतिर दुईवटा यात्रुवाहक बस बगाएर त्रिशुली नदीमा पुर्याएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु सवार थिए ।

नजिकैको सत्र किलोमा गएको पहिरोमा अर्को बसमा ढुंगा लाग्दा चालकको निधन भएको छ । नवलपरासीको सुनवल– ४ का चालक मेघनाथ विकको उपचारको क्रममा ज्यान गएको हो ।

उता पोखरामा पहिरोमा परी एकै घरका छोरी÷ज्वाइँसहित सात जनाको मृत्यु भएको छ । पोखरा– १९ पुरुन्चौर तल्लोकोटका कुलबहादुरका परिवार, छोरी÷ज्वाइँको पहिरोमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया लक्ष्मी, १५ वर्षीया प्रशना, चितवनका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो । 

पहिरोले बस बगाएको खबरलगत्तै सशस्त्र प्रहरी बलको नम्बर १७ गणको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । एसपी राजेश खरेलको कमाण्डमा २७ जनाको टोली मुग्लिनबाट झण्डै १७ किलोमीटर दूरीको सिमताल पुगेको हो । बसलाई पहिरोले बगाएपछि तीन जना यात्रु झरेको बताइन्छ ।

टिप्पणीहरू