उध्दार सामग्रीसहितको चार्टर फ्लाइट आउने तयारीमा

शुक्रबार बिहानीपख चितवनको सिमलताल नजिकै बाटोबाट त्रिशुलीमा खसेर बगेका दुई बस र त्यसमा रहेका ५० भन्दा बढी यात्रुमध्ये घटनास्थलभन्दा ५० किलोमिटर टाढा दुई जनाको शव भेटिए पनि अरुको अझै अत्तोपत्तो छैन ।
मुलुकभर देखिएको प्राकृतिक प्रकोप र बढ्दो विपत्तिमा बेपत्ता बस र दर्जनौं परिवारको रुवाबासीले नेपाली समाजलाई चर्को तनावमा पुर्याएको छ । अर्कोतर्फ हामीसँग यस्तो विपत्तिमा प्रयोग गर्न सकिने साधन, यन्त्र उपकरण र पर्याप्त स्रोत नभएको यथार्थ हो ।
हराएको बस र यात्रुको खोजीबारे नेपालले गरिरहेको प्रयास र प्राप्त असफलताबारे अनौपचारिक जानकारी एकाएक काठमाडौंस्थित चिनियाँ दूतावासमा पुगेको बताइन्छ । त्यसपछि राजदूत छन सोङले आवश्यक प्रविधि,उपकरण र जनशक्ति टोलीसहित सहयोग गर्न चीन तयार रहेको जानकारी पनि सरकारी अधिकारीहरुलाई अनौपचारिक रुपमै दिइसकिएको छ ।
यसका लागि नेपालबाट आवश्यक प्रक्रियाको ‘क्लियरेन्स’ हुनेबित्तिक्कै चिनियाँ टोली यता आउन तम्तयार अवस्थामा बसेको बताइन्छ । तर सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानको निम्ति रुट क्लियरेन्सको अनुमति दिनुपर्ने हुन्छ । अहिले सहयोग टोली काठमाडौं आउने प्रक्रिया यहीँनेर रोकिएको छ ।
नेपालबाट आवश्यक प्रक्रियाको ‘क्लियरेन्स’ हुनेबित्तिक्कै चिनियाँ टोली यता आउन तम्तयार अवस्थामा बसेको बताइन्छ । तर सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानको निम्ति रुट क्लियरेन्सको अनुमति दिनुपर्ने हुन्छ ।
अस्तिदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कामचलाउ हैसियतमा पुग्नुभएको छ । नयाँ प्रधानमन्त्री नियुक्तिमा दाबी गर्नुभएका केपी शर्मा ओलीले भोलि मात्रै पदभार ग्रहण गर्ने राष्ट्रपति कार्यालयको कार्यतालिका छ ।
‘पोलिटिकल एक्जिक्युटिभ भ्याकुम’ का कारण मुलुकको स्थायी सरकार ‘ब्युरोक्रेसी’ अलमलमा देखिन्छ । उच्च सरकारी अधिकारीहरुले राजनीतिक नेतृत्वको अभावमा यसबारे टुंगो लगाउन सकेका छैनन् ।
तर,चिनियाँ प्राविधिक टोली आवश्यक उद्धार सामग्रीसहित चार्टर फ्लाइटका लागि चालु हालतमा बसेको जानकारी दिइएको छ । यसअघि २०७२ को महाभूकम्प र गत कात्तिकको जाजरकोट भूकम्पपछि छिमेकी मुलुकहरुले सहयोग ओइर्या एका थिए । धेरै वटा चार्टर विमानबाट सहयोग सामाग्री ल्याइएको थियो ।
चिनियाँ राजदूतको पछिल्लो पहललाई दुःखको बेलामा मानवीय सहयोग देखाउन छिमेकी मुलुक तयार रहेको गतिलो उदाहरणको रुपमा लिइएको छ । आज नियुक्त हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि बिहान शपथ लिने तयारी छ । दुई ठूला छिमेकी मुलुकका काठमाडौंस्थित राजदूतावासले आफ्ना कार्यकारीको शुभकामना र बधाईको पत्र उहाँलाई तत्काल हस्तान्तरण गर्न समय लिने क्रम पनि शुरु भइसकेको छ । परराष्ट्र मन्त्रालयको व्यस्तता यसमा सबैभन्दा धेरै देखिएको छ ।
नयाँ सरकार गठनलगत्तै भेटघाट गर्न र आफ्ना प्रधानमन्त्रीको लिखित शुभकामना सन्देश भेटेरै हस्तान्तरण गर्न विदेशी राजदूतहरुको प्राथमिकता पहिलो प्रधानमन्त्री,दोस्रोमा परराष्ट्र,तेस्रोमा अर्थ र चौथोमा गृह हुने गरेको छ । यसअघिको क्याबिनेटमा रहेका अधिकांश मन्त्रीलाई काठमाडौंस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुले एकसरो पनि भेटघाट गर्न नपाई ती विदा भएको अवस्था छ । ‘छोटो कार्यकालका कारण त्यस्तो भएको होला,’ परराष्ट्रका एकजना सहसचिवले बताए ।
टिप्पणीहरू