परीक्षा केन्द्रबाट समातिएका नक्कली प्रहरी परीक्षार्थीलाई अदालत लगिँदै

परीक्षा केन्द्रबाट समातिएका नक्कली प्रहरी परीक्षार्थीलाई अदालत लगिँदै

प्रहरी जवान (जनपद) को लिखित परीक्षा दिँदै गर्दा पक्राउ परेका नक्कली परीक्षार्थीहरुलाई आज अदालतमा उपस्थित गराइने भएको छ । पक्राउ परेका ६ जनालाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

उनीहरुविरुद्ध लोकसेवा आयोग ऐन, २०७९ को परिच्छेद ६ को दफा ४१ को उपदफा (घ) बमोजिमको कसूरमा मुध्दा चलाइने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । सो उपदफामा अर्काको नाममा परीक्षा दिएमा वा दिन लगाएमा पाँच वर्षसम्म लोकसेवाबाट लिइने परीक्षामा उम्मेदवार हुन रोक लगाउने व्यवस्था छ । 

त्यस्तै, ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद हुने ऐनमा उल्लेख छ । हिजो विभिन्न स्थानमा सञ्चालित परीक्षा केन्द्रबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । ललितपुरको धापाखेल बस्ने २२ वर्षीय अभिषेक शाही, कञ्चनपुरको पुनर्वास नगरपालिका १ का २४ वर्षीय ईशाक तामाङ्ग, काठमाडौंको स्वयम्भु बस्ने १७ वर्षीया तृप्ती सन्दास, मित्रनगर बस्ने २२ वर्षीय पारस बुढा, कीर्तिपुर बस्ने २० वर्षीय रविन्द्र महरा र मित्रनगर बस्ने २१ वर्षीय दिनेश चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी वृत्त, गौशालाको टोलीले दुई, बानेश्वरको टोलीले तीन र सिंहदरबारको टोलीले एक जनालाई समातेको जनाइएको छ । प्रहरीका अनुसार अभिषेक दर्ता नम्बर १३१२७९ भएका रित शाही, ईशाक दर्ता नम्बर १३११२६ भएका हिक्मतबहादुर थापा, तृप्ती दर्ता नम्बर १३२८७८ भएकी शर्मिला शाही, पारस रोशन खत्री, रविन्द्र सबिन महरा र दिनेश प्रदिप बस्यालको नाममा परीक्षा दिन आएका थिए ।
 

टिप्पणीहरू