बेपत्ता बसका पाँच यात्रुको शव फेला, तीन जनाको सनाखत
शुक्रबार बिहान चितवनको नारायणघाट–मुग्लिङ्ग सडकको सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुलीमा बगेका दुई बससँगै बेपत्ता करिब पाँच दर्जन यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले पाँच जनाको शव फेला परेको जानकारी दिएका हुन् । जसमध्ये तीनवटा शव सनाखतसमेत भइसकेको छ । सनाखत गरिएको शव रौतहतका १९ वर्षीय रमिटकुशल माझी, भारत घर भएका २८ वर्षीय ऋषिपल साह र चितवनका २२ वर्षीय विकास परियारको भएको प्रहरीले जनाएको छ ।
रमित र ऋषिपल काठमाडौैंबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् । विकास भने वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा यात्रु रहेको प्रहरीले जनाएको छ ।
सनाखत भएकामध्ये दुईटा शव सम्बन्धित आफन्तको जिम्मा लगाइएको डिएसपी रिजालले जानकारी दिए ।
यात्रु चलानको आधारमा गौरतर्फ गइसकेको बसमा २७ जना र काठमाडौंतर्फ आइरहेको बसमा २४ जना यात्रु रहेको खुलेपनि सो संख्या थपघट हुनसक्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
टिप्पणीहरू