देखासिकी गर्नेलाई चुनौती बन्दै पारुलको अभियान

देखासिकी गर्नेलाई चुनौती बन्दै पारुलको अभियान
सुन्नुहोस्

मोरङ, विराटनगरका पारुल क्षेत्री राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय छन् । भ्रष्टाचार र अन्यायको विरोधमा सशक्त आवाज उठाउँदै आएका उनी अहिले छ हजार विरुवा रोप्ने र एक हजार विरुवा हुर्काउने अभियानमा केन्द्रित छन् । 

विगतदेखि नै अलपत्र परेका रुखविरुवा आफ्नै खर्चमा हेरचाह गर्दै आएका उनको अभियानले हिजोआज चर्चा पाएको छ । विराटनगरलाई हरियालीमैत्री बनाउने उनको अभियानलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले साथ दिएका छन् । 

एक महिना अघिदेखि थालिएको वृक्षरोपण अभियानमा हालसम्म एक हजार विरुवा रोपिएको छ । बरगाछी र मुनालपथ क्षेत्रमा विरुवा रोपेर सुरक्षित घेरा लगाइएको उनले बताए । उत्तरको विराटनगर गेटदेखि दक्षिण जोगबनी  सीमाना रानीसम्म छ हजार विरुवा रोपेर हुर्काउने उनको लक्ष्य छ । 

सरकारी निकायले ठूलो लागतमा वर्षेनी वृक्षरोपण गरेपनि विराटनगर झनै उजाड बन्दै गएको छ । गत वर्ष प्रदेश सरकार र विराटनगर महानगरपालिकाले राजमार्गको डिभाइडरमा रोपेको विरुवा संरक्षण नहुँदा लाखौंको खर्च ‘बालुवामा पानी हालेसरह’ भएको छ । 

महानगरले शहरको सौन्दर्यता बढाउन गमलाहरुमा विरुवा रोपेको छ । संरक्षणको अभावका कारण त्यहाँ गरिएको लगानी पनि खेर गएको छ । विभिन्न संघसंस्थाले उच्च पदस्थहरु ल्याएर वृक्षारोपण गरेपनि हुर्काउन चासो नदिँदा वर्षायामपछि बिरुवा मर्ने गरेको पाइन्छ ।

यता, महानगरले सडक स्तरोन्नति र भवन निर्माणको नाममा हुर्किएको विरुवा नष्ट गर्दै आएको छ । शहरलाई सुन्दर बनाउने भन्दै महानगरले वर पिपलको रुख काटेर सखाप बनाएको छ । यसबाट गर्मीमा शीतल छहारीको अभाव देखिन्छ । रुख काटेपछि स्थानीयले फलैँचामा बसेर हार्दिकता साटासाट गर्न छाडेका छन् । 

यसले सांस्कृतिक सद्भाव पनि हराउँदै गएको छ । वृक्षरोपणको नाममा मौलाएको देखासिकी रोक्न विराटनगरबासीहरु स्वतःस्फूर्त रुपमा उक्त अभियानमा जोडिएका छन् । अभियानकर्मीहरुले आफैंले खरिद गरेको र अनुदानमा प्राप्त विरुवा रोप्ने गरेको बताइन्छ ।

टिप्पणीहरू