शहरको दुर्गन्ध गाउँभरि
-नमस्कार शाह
नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ल्याण्डफिल साइटका कारण नजिकैको गाउँहरु दुर्गन्धित बनेका छन् । मुलुककै नमूना भनिए पनि वास्तविकता उल्टो रहेको बताइन्छ । उचित व्यवस्थापनको अभावमा उक्त साइट फोहर उत्पादन गर्ने केन्द्रको रुपमा रुपान्तरित भएको छ ।
ल्याण्डफिल साइटको गन्ध नजिकैका गाउँसम्म पुग्न थालेको छ । यसबाट स्थानीय मानवीय तथा वातावरणीय असरको जोखिम उच्च भएको बताइन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर २३ को हिरमिनियामा साइट निर्माण गरेको छ । करिब १३ बिघा जग्गामा एसियाली विकास बैंकको ३८ करोडको आर्थिक सहयोगमा निर्माण गरिएको ल्याण्डफिल साइट सञ्चालनमा आएको पाँच वर्ष भएको छ ।
सुन्दर नेपालगञ्ज शहरको परिकल्पनाका साथ उपमहानगरभित्रको फोहोरलाई मोहोरमा परिणत गरी सरसफाई र आर्थिक अवस्थामा सुधार ल्याउन विभिन्न वडाबाट फोहोर संकलनको व्यस्था मिलाइयो । ती फोहोर उक्त स्थानमा पुर्याएर अत्याधुनिक मेसिनले वर्गीकरण गर्ने भनिएको छ । काम नलाग्ने फोहोरलाई खाडलमा पुर्नुपर्ने भएपनि हाल फोहोर वर्गीकरण नगरी सोझै डम्पिङ गरिँदा व्यापक दुर्गन्ध फैलिएको स्थानीयहरुको गुनासो छ ।
कुहिने र नकुहिने सबै फोहोर एकै ठाउँमा फाल्दा खाल्डो भरिएर फोहोरकै डंगुर बन्नपुगेको छ । कुकुर, स्याल, चराचुरुङ्गीले फोहोर जथाभावी खोस्रिँदा वातावरण झन दुर्गन्धित बनेको हो । यसबाट नजिकका लोहारण पुरुवा, उदयपुर र तेलियनपुरुवा गाउँ तथा टोलका स्थानीयमा कालान्तरमा स्वासप्रश्वास र एलर्जी जस्ता समस्या आउन सक्ने बताइन्छ ।
ल्याण्डफिल साइट अवलोकनपछि फर्केका नाइस नेपालगञ्जका सचिव कमलबहादुर शाहीका अनुुसार शहरी क्षेत्रको फोहोर उपमहानगरपालिकाको गाडीले हरेक दिन त्यहाँ पुर्याउँछ । हरेक दिन २६ टनसम्म फोहोर संकलन हुने गरेको साइट इञ्चार्ज शिव लामिछाने बताउँछन् । शुरुवाती चरणमा मेसिनबाट फोहोर वर्गीकरण गरिए पनि हाल ३० जना कर्मचारीले हातले छुट्टयाउने गरेको पाइएको छ ।
३२ वर्षसम्म प्रयोग गर्न मिल्ने भनिएको साइटमा चार वटा ठूला खाडल छन् । एउटा भरिएर फोहोरको चुचुरो बनिसकेको छ भने बाँधी तीन वटा खाडल खाली देखिन्छ । वर्गीकरण गर्ने मेसिन ठेक्कामा दिइएको र ठेकेदारले शुरुको एक वर्षसम्म सोहीबमोजिम गरिए पनि हाल मेसिन सञ्चालनमा छैन । मेसिनमा खिया लागेकाले श्रमिकहरुबाट फोहोर छुट्याउन थालिएको हो ।
फोहोर बोकेका गाडीको रेकर्ड राख्ने जिम्मेवारीमा रहेका पूर्णिमा रोकाया फोहर वर्गीकरण नहुने गरेको बताउँदै भन्छिन्, ‘कोरोनाकालदेखि मेसिन बन्द भएकाले श्रमिकहरुले हातले छुट्याउँछन् ।’ आगामी दिनमा गम्भीर वातावरणीय असर पर्नसक्ने बारेमा नेपालगञ्ज उपमहानगरपालिकाको वातावरण शाखाका प्रमुख प्रकाश डिसीले आफूहरु यसतर्फ सचेत रहेको बताए ।
उक्त असरलाई न्यूनीकरण गर्न उपमहानगर लागिरहेको उनको दाबी छ । साइटको बाहिरी वातावरणका साथै भित्र काम गर्ने हरेक कर्मचारीको स्वास्थ्यमा पर्नसक्ने असरको बारेमा आफैँ फिल्डमा गएर अनुगमन गरेको डिसीले बताए । फोहोरका गन्ध कम गर्न विभिन्न केमिकल प्रयोग गरिएको, काम गर्ने कर्मचारीहरुलाई पिपिइ प्रयोग अनिवार्य गरिएको उनले जानकारी दिए । साथै कर्मचारीहरुको स्वास्थ्य बीमासँगै हरेक छ महिनामा स्वास्थ परीक्षण हुने गरेको डिसीले बताए ।
एकातर्फ उपमहानगरपालिकाका साथै जनप्रतिनिधिहरु यसतर्फ अझबढी सचेत हुन जरुरी देखिएको छ । नागरिकहरुले पनि आफ्नो निवासबाट संकलन हुने फोहोरको वर्गीकरण गरेर उपमहानगरपालिकाको गाडीमा पठाउने गरेमा फोहोर व्यवस्थापनमा सकारात्मक नतिजा प्राप्त हुने निश्चित छ ।
टिप्पणीहरू