मध्यमर्स्याङ्दीका कारण स्थानीयबासी तनावमा
सन २००० मा शुरु भएर २००५ मा सम्पन्न गर्ने भनिएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना अनेक बहानामा तीन वर्ष ढिलो सम्पन्न भएको थियो । शुरुमा लागत १३ अर्ब भनियो तर परियोजना सम्पन्न हुँदा २७ अर्ब २० करोड पुगेको देखाइयो ।
लमजुङ जिल्लाको पहिलो र ठूलो उक्त परियोजनाबाट हिउँदको समयमा विद्युत उत्पादन घटेर २४ देखि २५ मेगावाटसम्म झरेको पाइन्छ । ३५÷३५ मेगावाट क्षमताका दुईवटा टर्बाइन रहेको परियोजनाले कम उत्पादनसँगै स्थानीयलाई थप पिडा दिएको बताइन्छ ।
जलविद्युत परियोजनाको ड्याम्म साइड वरपर नदीको चर्को बहावका कारण उत्पन्न पहिरोले बेसीशहर–११ का तल्लोबस्ती उच्च जोखिममा परेको छ । उक्त समस्या समाधानमा विद्युत प्राधिकरणले कुनै चासो नदिएपछि प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका हुन् ।
नदी कटानले उदीपुरबाट रिठ्ठेबगर, बजारखुट्टा, बुढीकुवा, र बरबोट जोड्ने सडक भासिएकाले यातायात अवरुद्ध छ । प्राधिकरणले परियोजनाको जलाशयको तल्लो भागमा तटबन्ध निर्माण गरेपछि मर्स्याङ्दी नदी आफ्नो धार परिवर्तन गरेर पूर्वतर्फ मोडिएपछि समस्या निम्तिएको हो ।
उता नेपाली सेनाले रिठ्ठेबगरको पुलदेखि लगभग १ किलोमिटरमाथि ढुंगा गिटी थुपारेको छ । त्यसले पनि नदीको बहावलाई अनेत्र मोड्न सहयोग पुर्याएको बताइन्छ । ती नदीजन्य पदार्थ तत्काल हटाउन बेसीशहर ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले जिल्ला विपद व्यवस्थापन समितिमार्फत् ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएकोमा स्थानीयको गुनासो छ ।
यता विपद व्यवस्थापन समितिले समस्या समाधानका लागि मध्यमर्स्याङ्दी जलविद्युत परियोजनामा गरेको पत्राचारमा परियोजनाले नदीजन्य पदार्थ हटाउनुको सट्टा सडक नै सार्नुपर्ने प्रतिवेदनको हवाला दिएको छ । चालु आर्थिक वर्षको प्रदेश सरकारको सहयोगमा गरिएको तटबन्धनमा पनि नदी कटानले क्षति पुर्याएको अध्यक्ष जोशीले बताए ।
सोही विषयलाई लिएर गत शनिबार सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पीडित रुद्रनिधि तिवारी र सुनिल तिवारीले पहिरोले आफ्नो घरबास जोखिममा परेको गुनासो पोखे । गोठ र शौचालय पहिरोले बगाइसकेको छ । घरमा बस्न सक्ने अवस्था नभएकाले बस्ती पूरै जोखिममा भएको उनीहरुको दुःखेसोलाई परियोजना र विपत व्यवस्थापन कार्यालयले समेत बेवास्ता गरेको देखिन्छ । वडा कार्यालयले उक्त समस्या प्राधिकरण, जिल्ला प्रशासन कार्यालयलगायतका सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा कुनै सुनुवाई नभएको जनाएको छ ।
प्राधिकरणले मध्यमर्स्याङदीको ड्याम साइटमा ४ मेगावाटको सोलार प्यानल निर्माण गर्न लागेको छ । त्यसका लागि प्राधिकरणलाई पक्की सड़क आवश्यक पर्ने भएकाले सो निर्माण नभएसम्म परियोजना सञ्चालन गर्न नदिने स्थानीयहरुले चेतावनी दिएका छन् । सर्वसाधारणका लागि बन्द गरिएको परियोजनामा रहेको दुईवटा मोटरेवल पुलमध्ये एउटा पुलबाट भएपनि आवतजावतलाई सहज बनाउन, रिठ्ठेबगर हुँदै बुढीकुवासम्म पक्की सडक निर्माण गरिदिन माग गरिएको छ ।
वडाध्यक्षको अगुवाइमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरूङ र बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललाई स्थानीयले यस सम्बन्धमा ज्ञापनपत्र बुझाइसकेका छन् । परियोजना प्रमुख पवन बस्नेतले आफूहरुको उक्त विषयमा ध्यानाकर्षण भएकाले समस्याको समाधान निकाल्न छलफल भएको जानकारी दिए । लमजुङमा बाढी पहिरोका कारण पछिल्लो समय पाँच जनाको ज्यान गइसकेको छ ।
टिप्पणीहरू