सरकारी क्रेन डेढ दशकसम्म ठेकेदारको कब्जामा
डेढ दशकअघि पुलको जग खन्न भाडामा लगिएको सरकारी कोबेल्को क्रेन ठेकेदारले अझै फिर्ता गरेका छैनन् । कृष्णबहादुर लामा स्वामित्वको वाईवा/भैरव कन्स्ट्रक्सन जेभीले २०६६ जेठ २९ गते तत्कालिन मध्यमाञ्चल सिंचाई विकास डिभिजन नम्बर ५ सँग सम्झौता गरी पुलको जग खन्ने कार्यका लागि कोबेल्को क्रेन भाडामा लगेका थिए ।
अहिले डिभिजन नम्बर ५ को नाम फेरिएर जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवन भएको छ । ठेकेदारले सम्झौताको बखत क्रेन प्रयोग गरेबापत भाडा रकम भुक्तानी गर्ने उल्लेख गरेको बताइन्छ ।
पटकपटक ताकेता र सूचना टाँस गर्दा समेत ठेकेदारले तोकिएको रकम भुक्तानी र मेशिन फिर्ता नगरेको डिभिजनले जनाएको छ । आज सार्वजनिक सूचना प्रकाशित गर्दै उक्त कार्यको निम्ति पुनः ३५ दिनको समय दिइएको छ ।
सो अवधिभित्र सम्बन्धित ठेकेदारलाई भाडा रकम दाखिला र मेशिन फिर्ता गर्न डिभिजन कार्यालयले अल्टिमेटम दिएको छ । लेखिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र चित्त बुझ्दो कारणसहित भाडा रकम भुक्तानीको निस्सासहित मेशिन फिर्ता गर्न आउनुहोला । अन्यथा, प्रचलित कानूनबमोजिम भइजाने जानकारी गराइन्छ ।’
टिप्पणीहरू