महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा.दीनमणी पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको छ । उहाँले आज पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालय, शीतल निवासले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सम्माननीय प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा.दीनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको,’ उल्लेख छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पोखरेल २०७९ पुस १३ गते महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको थियो ।
तर, प्रचण्ड सरकार ढलेपछि नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनपछि उहाँले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको हो ।
हालैको सहकारी प्रकरणमा निवर्तमान गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि उजुरी नपरेको ‘क्लियरेन्स पत्र’ बनाइदिएपछि पोखरेल विवादमा तानिनुभएको छ ।
टिप्पणीहरू